वैदेशिक रोजगारी : सर्वसाधारणको बाध्यतामा ठगहरुको रजाईं

वैदेशिक रोजगारी : सर्वसाधारणको बाध्यतामा ठगहरुको रजाईं

वैदेशिक रोजगारीमा अमेरिका र पोर्चुगल पठाइदिने नाममा ठगी गर्दै आएका दुई व्यक्ति गत बुधबार पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा सर्वसाधारणलाई ठग्दै आएका उज्वल खड्का र टिकाबहादुर भण्डारी प्रहरी नियन्त्रणमा पुगेका हुन् । 

भक्तपुरको लोकन्थली बस्दै आएका ४४ वर्षीय उज्वलले वैदेशिक रोजगारीका लागि अमेरिका, जर्मनी, बेलायतलगायत मुलुक पठाइदिने नाममा करोडौँ ठगी गर्दै आएको खुलेको छ । ती मुलुक जान प्रतिव्यक्ति ३० लाख रुपैयाँ लाग्ने र मासिक चार लाखभन्दा बढी आम्दानीको प्रलोभनमा पीडितहरुबाट पटकपटक गरेर तीन करोड ५६ लाख ८ हजार उठाएपछि उनी एकाएक फरार भए ।

यता सिन्धुपाल्चोक घर भएका र हाल काठमाडौँको नयाँ बानेश्वर बस्दै आएका २३ वर्षीय टिकाबहादुरले पनि वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिने प्रलोभनमा लाखौँ रकम ठगेको पाइयो । पोर्चुगलको प्रतिष्ठित कम्पनीमा काम लगाइदिने प्रलोभन देखाउँदै उनी पनि पीडितबाट पटक पटक गरेर १५ लाख उठाएपछि सम्पर्कविहीन भएका हुन् ।

आफुहरु ठगिएको थाहा पाएपछि तीलगायत अन्य पीडितहरु वैदेशिक रोजगार विभाग गुहार्न बाध्य भए । विभागको अनुरोधमा नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बुधबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका उनीहरुलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको निम्ति विभाग पठाइएको प्रहरीले जनाएको छ । यसअघि पनि वैदेशिक रोजगारीमा मलेसिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्रेको थियो । 

पर्सा घर भई हाल कीर्तिपुर बस्दै आएका ३६ वर्षीय हिरालाल महतो नुनिया र काठमाडौँको नयाँ बानेश्वर, थापागाउँ बस्ने ५१ वर्षीया विमला थापा पक्राउ परेकी हुन् । वैदेशिक रोजगारीका लागि मलेसियाको प्रतिष्ठित कम्पनीमा काम लगाइदिने प्रलोभनमा उनीहरुले पीडितहरुबाट रकम असुलेको खुल्न आएको छ ।

 
गत चैत्र २९ गते वैदेशिक रोजगारीमा अमेरिका, कोरिया, इजरायललगायत मुलुक पठाइदिने नाममा ठगी गर्दै आएका अर्का दुई व्यक्ति पनि समातिए । पक्राउ परेकामा काठमाडौँको कपन बस्ने ४२ वर्षीय पवन राणा र लाजिम्पाटका २६ वर्षीय सुनिलकुमार यादव हुन् । आकर्षक तलबमा अमेरिका, कोरिया पठाइदिने प्रलोभन देखाउँदै पवनले सयौं जनाबाट करोडौँ रुपैयाँ असुलेको तथ्य खुल्दै आएको छ ।

जिटुजी सम्झौतामा सरकारी कोटामा इजरायल पठाइदिने र त्यहाँ पुगेपछि कृषि कम्पनीमा काम लगाइदिने प्रलोभन देखाउँदै सुनिलले पनि लाखौँ रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । अधिकांश सर्वसाधारण नेपालीले नामै नसुनेको मुलुक स्लोभाकिया पठाइदिने प्रलोभनमा १२ लाख ठगेको आरोपमा गत चैत २८ गते एकराज नेम्वाङ पनि प्रहरी नियन्त्रणमा पुगे । 

पाँचथरबाट आएर हाल ललितपुरको नख्खिपोटमा बसेका ४६ वर्षीय एकराजले वैदेशिक रोजगारीका लागि स्लोभाकिया पठाइदिने र त्यहाँ पुगेपछि प्रतिष्ठित कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङको काम लगाइदिने प्रलोभनमा धेरैलाई ठगेका हुन् । 

स्लोभाकिया जान प्रतिव्यक्ति १५ लाख लाग्ने र मासिक दुई लाख रुपैयाँभन्दा धेरै तलब हुने प्रलोभन देखाएका उनी पनि पीडितबाट पटकपटक गरी १२ लाख रुपैयाँ उठाएपछि अरु ठगझैँ सम्पर्कविहीन भएका थिए । प्रहरीको खोजतलासपछि उनी काठमाडौँको गोंगबुबाट समातिएका हुन् । यी त केही सर्वसाधारण ठगिएका प्रतिनिधि घटना मात्रै हुन् । 

यसले पछिल्लो समय नेपालमा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने प्रलोभनमा ठगी गर्नेको संख्या बढ्दो क्रममा रहेको देखाउँछ । मुलुकमा एकातिर रोजगारीको अभाव र अर्कातिर महंगी बढ्दा नेपाली युवाहरु कामको खोजीमा विदेशिन बाध्य भइरहेका छन् । 

तर, उनीहरुको बाध्यतालाई सीमित व्यक्ति र टाढाबाठारुले आम्दानीको स्रोत बनाइरहेका छन् । कमजोर आर्थिक अवस्थाका कारण बैंक तथा वित्तीय संस्था वा व्यक्तिहरुबाट मीटरब्याजमा ऋण लिएर वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान खोज्नेलाई अहिले प्रलोभनमा पारेर ठग्ने क्रम ह्वात्तै बढेको हो ।

कतिपय अवस्थामा वैदेशिक रोजगारीमा आकर्षक मुलुक पठाइदिने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने प्रलोभनमा पीडितबाट रकम असुल्दै मानव तस्करी गर्ने गरेकोसमेत पाइएको छ । वैदेशिक रोजगार विभागका निर्देशक कृष्ण भुसाल रोजगारीको सिलसिलामा विदेशिनेको संख्या बढेसँगै वैदेशिक रोजगारीमा विभिन्न मुलुक पठाइदिने नाममा ठगी गर्नेको संख्या बढेकोे स्वीकार्छन् ।

उनका अनुसार आर्थिक वर्ष २०७९÷०८० को चैत महिनामा मात्रै सयौंको संख्यामा विभागमा यस्ता घटनासँग सम्बन्धित उजुरी दर्ता भएका छन् । तीमध्ये संस्थागत ४ सय ८५ र व्यक्तिगत ६ सय ८६ गरी ११ सय ७१ वटा उजुरी विभागमा दर्ता भएका छन् । 

सोही महिनामा १ सय ८२ वटा उजुरी विभागमा दर्ता भएको उल्लेख गर्दै भुसालले भने, ‘आकर्षक तलबमा वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा ठगिएको गुनासो गर्दै दिनहुँ १० देखि १५ वटा उजुरी विभागमा दर्ता हुने गरेको छ ।’
उनले अगाडि भने, ‘जनचेतनाको अभाव छ । हामी अहिले पनि प्रलोभनमा फस्छौँ । अधिकांश मानिसमा श्रम स्वीकृति लिएर मात्रै विदेश जानुपर्छ भन्ने ज्ञानको विकास हुन सकेको छैन ।’ यसमा राज्य र व्यक्ति स्वयम्को पनि कमीकमजोरी रहेको उनको भनाइ छ । उपयुक्त माध्यमबाट जनचेतना वा प्रचारप्रसार गर्न नसक्दा पनि यस्तो समस्या निम्तिएको निर्देशक भुसालको बुझाइ छ ।

जनचेतना अभिवृद्धिमा सम्बन्धित निकाय चुकेको बताउँदै भुसाले भनेका छन्, ‘श्रम स्वीकृति नलिई कोही पनि वैदेशिक रोजगारीमा नजाने र जान नखोज्ने हो भने यस्तो ठगीबाट बच्न सकिन्छ ।’

टिप्पणीहरू