सडकछेउमा हिँडेकालाई मोटरसाइकलको ठक्कर, ७२ वर्षे वृद्धको निधन
बनेपामा आज साँझ भएको सडक दुर्घटनामा एक जनाको निधन भएको छ । अर्का २ वर्षे बालक घाइते भएको बताइएको छ ।
बनेपाको बुडोलडाँडामा धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा.प्र. ०२–०३० प ३३११ नम्बरको मोटरसाइकलले सडक छेउबाट हिँडिरहेका हजुरबा र नातिलाई ठक्कर दिएको हो । स्थानीय ७२ वर्षे मिश्रदेव थपलिया र निजका नाती २ वर्षे कृष्णमोहन थपलिया मोटरसाइकलको ठक्करपछि घाइते भएका थिए ।
उपचारार्थ धुलिखेल अस्पताल लगिएकोमा मिश्रदेवको पौने ९ बजे निधन भएको बताइएको छ । घाइते दुबैको टाउको र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक फरार भएकाले उनको खोजी भइरहेको छ । दुर्घटनामा संलग्न मोटरसाइकल बनेपा प्रहरीको नियन्त्रणमा राखिएको बताइएको छ ।
टिप्पणीहरू