चितवनका घर घरमा पुगेका हुम्लाका पाण्डेको आरोप : म बाहेक अरु सबै विदेशीका दलाल
अञ्जनकुमार
२०५४ सालको झल्को दिने शैलीमा सानो हाते माइक र साथमा चार पाँच जना सहयोगी । हुम्लामा सामाजिक अभियन्ताको परिचय बनाएका महेन्द्र पाण्डे सयौंको संख्यामा कार्यकर्ता र दर्जनौं गाडीको लावालस्करसहित अस्तिसम्म चुनावी प्रचारमा निस्किएका नेपाली काँग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलाई विदेशीको इशारामा नाच्ने ‘नोकर’ भन्दै जनमुक्ति पार्टीको उम्मेदवार बनेर चुनावी प्रचारमा व्यस्त भए ।
उनको चुनावी प्रचार शैली पनि नितान्त फरक देखिन्थ्यो । ठूला दल र तिनका कार्यकर्ताले बनाएको फोहोर सोहोर्दै सत्ता गठबन्धनका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र रास्वपाका रबि लामिछानेभन्दा आफू सयौं गुणा माथि रहेको उनले सँधै दाबी गरे ।
चितवन २ नम्बर क्षेत्रको विकासको निम्ति आफ्नो विकल्प नरहेको बताउने पाण्डेलाई उम्मेदवार हुन् भनेर पत्याउन कसैलाई पनि मुश्किल भएन । तर रबि लामिछानेको दोहोरो नागरिकताको कारण उपनिर्वाचन हुन लागेको चितवन–२ मा उम्मेदवार बन्न आइपुगेका हुम्लेली पाण्डेको हुँकार भने चानचुने देखिएन ।
उनले चुनावी प्रचार प्रसारमा काँग्रेस, माओवादी, एमाले र आफूलाई परिवर्तनको संवाहक ठान्ने घण्टी पार्टीका नेता लामिछानेसमेत विदेशी दलालबाट परिचालित नोकरको आरोप लगाइरहे । सत्ता गठबन्धनका जीतनारायण श्रेष्ठदेखि लामिछानेले चुनाव आफूहरुले जितिसकेको दाबी गरेको बेलामा पाण्डे मुलुकलाई थप भड्खालोमा जानबाट जोगाउन आफ्नो निकल्प नरहेको भन्दै घर चिन्हमा मतदान गर्न आग्रह गर्दै हिँडिरहे ।
एकथरी चितवनमा रविले अघिल्लो निर्वाचनमाभन्दा बढी मत ल्याएर जित्छ्न भनी अड्कलबाजी गरिरहेको बेलामा यी पाण्डेले भने यसपटक लामिछाने हार्नुको विकल्प कहिल्यै देखेनन् । व्यापक तामझाम, सयौं कार्यकर्ता र दर्जनौं गाडीको लावालस्करसहित लाखौं खर्चिएर चुनाव प्रचारमा निस्किएका ती दललाई पाण्डेले उक्त तामझामको स्रोत खोज्न मतदातालाई अपिल गरेका छन् ।
नगरको फोहोर सफा गर्दै चुनावी अभियानमा देखिएका पाण्डेले निर्वाचन क्षेत्रको सबै प्रकारका विकार सफा पार्न आफूलाई जिताउन अपिल गर्दै चुनावी प्रचार गरेका थिए । उनी रविले जिते पुनः निर्वाचन हुने उल्लेख गर्दै लामिछानेलाई अमेरिकी एजेन्टको समेत आरोप लगाउन पछि परेको देखिएन ।
केही सहयोगीसहित इच्छाकामना–५, मुग्लिन पुगेका पाण्डेले समृद्धिको नारालाई साकार पार्न र विदेशी दलालहरुबाट मुलुकलाई जोगाउन आफूलाई जिताउन स्थानीयलाई आग्रह गरेका हुन् । गुल्मेली सागर ढकालले काँग्रेस सभापति देउवालाई डडेलधुरामा गत आमनिर्वाचनमा हायलकायल पारेझैँ हुम्लेली पाण्डेले चितवनमा त्यो ल्याकत त नराख्लान् तर चिसो ठाउँका पाण्डे चितवनको धुपमा राजनीतिक दलले थुपारेको फोहोर सफा गर्दै चुनावी प्रचारमा होमिएको दृश्यलाई भने मान्नैपर्ने मुग्लिनका रोहिणी त्रिपाठी बताउँछन् ।
टिप्पणीहरू