एमाले र रास्वपाका कार्यकर्ता जुधेपछि चितवनको मतदान रोकियो
चितवनको भरतपुर–११ मा रहेको नयाँ किरण कमल कुसुम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ । दुई पक्षबीच विवाद हुँदा मतदान प्रभावित भएको बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेका समर्थकहरुले मतदातालाई प्रभावमा लिन नाराबाजी गरेको भन्दै एमाले कार्यकर्ताले आपत्ति जनाएपछि उत्पन्न विवादले मध्यान्ह १२ बजेदेखि मतदान रोकिएको हो ।
मतदानस्थल अवलोकन गर्न पुगेका लामिछानेको पक्षमा उनका समर्थकहरुले ’रवि दाई हाई हाई’ को नारा लगाएका थिए । भोट हाल्न लाइन लागेका मतदातालाई प्रभावित पार्न उम्मेदवारको पक्षमा नाराबाजी गरिएको भन्दै एमाले नेता–कार्यकर्ताले त्यसको विरोध गर्दा दुवै पक्षबीच भानाभन भएको थियो । भनाभन झडपको अवस्थामा परिणत भएकाले प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिए पनि मतदान भने अवरुद्ध भएको छ ।
सर्वदलीय बैठक बसेर मतदान सुचारुको प्रयास गरिए पनि काँग्रेस र एमालेका प्रतिनिधिले नमानेको बुझिएको छ ।
टिप्पणीहरू