मनकामना जाँदै हुनुहुन्छ, कुटाइ खाइएला है !
– प्रमोद साह
वैशाख १ गते नयाँ वर्ष मनाउने र माताको दर्शन गर्ने दुई अभिलाषासाथ शुक्रबार साँझ केबुलकार हुँदै मनकामना छिरियो । केबुलकारबाट ओर्लिन नपाउँदै बासका लागि होटलवालाहरूको तँछाडमछाड देखियो । नयाँ वर्षका दिन सबै होटल भरिभराउ थियो । राम्रो होटल खोज्दाखोज्दै ‘मिड फूलबारी’मा पुगेँ । उनले एउटा कोठाको दुई हजार रूपैयाँ लाग्ने, खाना यसैमा खानुपर्ने भनेर बताए । मैले कोठाको मात्रै कुरा गरौँ, आज नयाँ वर्ष भएकाले खानापिना साथीहरूसँग गर्ने भन्दा कुनै पनि हालतमा खाना यसैमा खानुपर्ने नत्र कोठा नदिने भनेर जिद्दी गरे ।
होटल सञ्चालक हरि श्रेष्ठले भने, ‘मनकामनामा रहेको सबै होटलको यही नियम छ, बास बसेको होटलमै खानुपर्छ । खाना आठ बजे नै खानुपर्छ ।’ खाना अर्डर दिएर मन्दिर घुम्न निस्केँ । मन्दिरमा अन्य साथीसँग भेटघाट भएपछि कुराकानीमै रातको ९ बज्यो । यत्तिकैमा होटलका साहुनीको मोबाइलमा फोन आयो, किचेन बन्द गर्ने समय भयो खाना आएर खानुस् नत्र कोठामा अर्को ताल्चा झुण्डयाइनेछ । म मन्दिरबाट फर्केर होटलमा फर्केँ । त्यसपछि मैले साहुनीलाई खाना दिनुस् भनेर अर्डर दिँदै मनकामना घुम्न आएको छु, यसरी कोठामा ताल्चा झुण्डयाइदिने भनेर न थर्काउनुस् न भनेर के भन्या’थिएँ ।
यत्तिकैमा उनको श्रीमान्् अर्थात होटल सञ्चालक श्रेष्ठ झोक्किँदै आए । ‘बस्नु छ भने बस्, बस्नु छैन भने होटलबाट बाहिर जा’ मदिराको नशामा लठ्ठ होटल सञ्चालक श्रेष्ठ झगडै गर्ने मुडमा थिए । मैले भनेँ, ‘साहुजी, यसरी किन बोल्नु भएको, म त घुम्न आएको छु, खाना अर्डर गरेकै छु, यदि ढिलो हुन्छ भने मेरो कोठामा खाना पार्सल गरिदिनुस् न । के भयो र ?’ यति भनेपछि उनी झन झोक्किए र तपाईंबाट तिमीमा सम्बोधन शुरु गरे । त्यतिले मात्रै नपुगेपछि उनले बिहारी भनेर पनि गाली दिए । मैले भनेँ, ‘साहुजी, यसरी मनकामना दर्शन गर्ने आकांक्षा लिएका दशनार्थीहरूसँग यो कस्तो व्यवहार हो भनेर भनेपछि मदिरामा लठ्ठ भएका उनले मेरो होटलबाट गेट आउट भनेर भन्दै अब तिमीलाई कोठा दिन्नँ, खाना पनि दिन्नँ भनेर होहल्ला गर्दै कुटपिट गर्ने मुडमै ओर्लिए ।
होहल्लामै रातिको दश बज्न लाग्या थियो, मैले पनि अब यस्तो किचकिचमा बस्न सकिन्न भन्ने सोचका साथ कोठाबाट निस्किँदै होटल सञ्चालक श्रेष्ठसँग बासका लागि दिएको पैसा फिर्ता गर्नुस् भन्दा कोठा दिन्नँ, पैसा पनि फिर्ता दिन्नँ भन्दै जे गर्नु’छ गर भनेर थर्काए । त्यसदिन साथी बस्दै आएको कोठामा बसेँ । अर्को दिन मनकामना माताको दर्शनपश्चात अरु होटलमा पनि सम्पर्क गरेँ तर सबैको त्यस्तै नियम थियो, कोठा पाउनका लागि यसैमा खाना खानुपर्छ नत्र कुनै उपाय छैन । के यही हो पर्यटन ? म पनि नेपालकै बासी हो भनेर नागरिकता देखाउँदा पनि बिहारीको सम्बोधनले मन खिन्न बनायो । आन्तरिक पर्यटकको त कुरै छाडौँ, नेपाल बाहिरबाट आएका भारतीय पर्यटकको हाल बेहाल देखियो । मुुलुकको आर्थिक अवस्था दयनीय बन्दै गएको बेला पर्यटनबाट केही आशा पलाएकोमा यस किसिमको मनमौजीप्रति सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने हो ।
मनकामना गोरखा जिल्लामा पर्छ । यहीँबाट नेताहरू बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ नेपाली राजनीतिमा सक्रिय छन् । प्रधानमन्त्री, उपप्रधानमन्त्री जन्माउने जिल्लाले व्यवसायमा ‘तमिज’ जानेकाहरू किन जन्माउने सकेन होला ? बाटोभरि मन खिन्न भइरह्यो । मनकामना माईका नाममा गुण्डागर्दी, ज्यादती, रंगभेदी विभेद गर्नेहरूकै भूगोलको मान्छे प्रधानमन्त्री र गृहमन्त्री भएका छन् । थाहा छैन, सफेद पोशाकमा भेटिने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसम्म यो सन्देश पुग्दा कि नपुग्ला ? पुगेछ भने पनि अब फेरि मनकामना जाँदा अरुले यस्तो हविगत भोग्नुपर्ला कि नपर्ला ? नयाँ वर्षमा आफ्नै देशमा मनकामना माईको आँगनीमा यो अपमान भोग्दा म बाहेक अरुको पनि मन दुख्दैन होला र ?
टिप्पणीहरू