अदालतअगाडिबाटै पल्सर अलप

अदालतअगाडिबाटै पल्सर अलप

कपिलवस्तुमा मोटरसाइकल चोरीको घटना बढ्दै गएको छ । कृष्णनगर,बहादुरगञ्ज, चन्द्रौटा र तौलिहवालगायत ठाउँमा मोटरसाइकल चोरीको घटना बढ्दै गएको हो । केही महिनादेखि सीमानाकामा रहेको कृष्णनगर बजार क्षेत्र पनि असुरक्षित हुँदै गएको छ । 

मोटरसाइकल चोरीको घटना बढ्दै गए पनि प्रहरी प्रशासन मुकदर्शक बनेर बसेको जनगुनासो छ । महिनैपिच्छे मोटरसाइकल चोरीको घटना बढिरहेको अवस्था छ । २१ जनवरी २०२३ मा युपी ५५ एम ४३२१ नम्बर भएको हिरो स्प्लेन्डर प्रो मोटरसाइकल कृष्णनगरको यात्री गेटबाट चोरी भएको छ । यसअघि ११ मार्च २०२३ मा युपी ५५ डब्ल्यु ६९४९ नम्बरको होण्डा साइन (रातो) रंगको कृष्णनगर बजारबाटै चोरी भएको थियो । यसैगरी चैत्र १६ गते कृष्णनगरको यात्री गेटबाट भारतीय नम्बर प्लेटको १८० सिसिको पल्सर बाइक चोरी भएको स्थानीयले बताएका छन् ।

यस्तै गाडीधनी अरमान खानले लु ७३ प ७६१९ नम्बरको २०० सिसीवाल पल्सर बाइक गत चैत्र २३ बिहिवार दिउँसो साढे एक बजे तौलिहवा जिल्ला अदालत अगाडिबाट चोरी भएकोे बताएका छन् । राम्रो पार्किङ तथा बजारमा चोरी नियन्त्रणका लागि सिसिटिभी क्यामेरा जडानको व्यवस्था भए चोरी नियन्त्रण हुने थियो । इलाका प्रहरी कार्यालय कृष्णनगरका निरीक्षक नवराज ढुंगानाले मोटरसाइकल चोरीको निवेदन आएको र खोजतलास भइरहेको बताए ।

हालसम्म ४ वटा मोटरसाइकल मात्रै चोरी भएको निवेदन उनको कार्यालयमा पुगेको छ । इलाका प्रहरी कार्यालय बहादुरगञ्जका नायब निरीक्षक धनबहादुर थापाले आफ्नो क्षेत्रमा मोटरसाइकल चोरीको लिखित निवेदन नआएको बताए । घर जान लाग्दा संकलनमा सक्रिय एसपी प्रेमबहादुर बस्नेतले पनि चोरी भएका मोटरसाइकलको खोजतलास भइरहेको झाराटराइवाला जवाफ दिए ।
 

टिप्पणीहरू