रास्वपाका रमेश खरेलसहित ३१ उम्मेदवारको धरौटी जफत

रास्वपाका रमेश खरेलसहित ३१ उम्मेदवारको धरौटी जफत

आफैँ अध्यक्ष रहेको नेपाल सुशासन पार्टी छोडेर उपनिर्वाचनको उम्मेदवारी मनोनयनको अघिल्लो दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्दै घण्टी चिन्ह लिएर बारा क्षेत्र नम्बर २ बाट उठेका नेपाल प्रहरीका पूर्वडिआईजी रमेश खरेलको धरौटी जफत भएको छ । 

गणना भएकोमध्ये सदर मतको १० प्रतिशत ल्याउन नसकेपछि उनको धरौटी जफत भएको बताइएको छ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले भारी मतसहित जितेको उक्त निर्वाचन क्षेत्रमा खरेल, आम जनता पार्टीका अरुण ज्ञवाली, राप्रपाका सोनालाल तेलीसहित ३१ जना उम्मेदवारले जमानत जोगाउन सकेनन् । 

बारा–२ मा १ लाख ५ हजार २ सय ४८ मतदाता रहेकामा ६९ हजार २२ मत खसेको थियो । त्यसमध्ये ८३० मत बदर भई ६८ हजार १ सय ९२ मत सदर हुँदा ३१ उम्मेदवारले १० प्रतिशत पुर्याउन नसकेका हुन् ।  जमानत जोगाउन कम्तीमा ६ हजार ८ सय १९ मत प्राप्त गर्नुपर्नेमा रास्वपाका उम्मेदवार खरेलले जम्मा २ हजार ८ सय २९ मत ल्याए । त्यस्तै, राप्रपाका उम्मेदवार तेलीले ११९ भोट पाएका हुन् । 

विजयी उम्मेदवार जसपाका यादवले २८ हजार ४ सय १५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याए । १० हजार २ सय १६ मत ल्याएका एमाले उम्मेदवार पुरुषोत्तम पौडेल तेस्रो भए ।  

प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारले १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था छ । सदर मतको १० प्रतिशत ल्याउन नसक्ने उम्मेदवारको उक्त धरौटी रकम जफत हुन्छ ।

टिप्पणीहरू