आमनिर्वाचनमा उम्मेदवारको खर्च २४ हजार !

आमनिर्वाचनमा उम्मेदवारको खर्च २४ हजार !

गत मंसिर महिनाको आमचुनावमा उठेका उमेदवारहरूले निर्वाचन आयोगमा चुनाव खर्च बुझाइरहेका छन् । धेरैले लाखौं रूपैयाँ खर्च भएको विवरण बुझाएका छन् । तर सिरहाका एकजना उमेदवारले केवल २४ हजार रूपैयाँ चुनावमा खर्च भएको विवरण पेश गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको चुनाव खर्च २४ हजार ८ सय रूपैयाँ उल्लेख छ । सोही खर्च पनि  नेपाल पत्रकार महासंघले बेहोरेको बताइएको छ । उनले उक्त रकम सामाजिक सञ्जाल प्रयोगमा खर्च भएको स्पष्ट पारेका छन् । 

यसरी २४ हजार रूपैयाँमा चुनावमा उम्मेदवार बनेका अरू कोही नभएर सिरहाका पत्रकार देवकुमार यादव हुन् । नेपाल पत्रकार महासंघ, सिरहा शाखाका पूर्व सभापति तथा केन्द्रीय सदस्य यादवको चुनाव चिन्ह क्रस खुकुरी थियो । 

प्रतिनिसभा सदस्यमा उमेदवारी दिएका उनले तीन ‘स’ को एजेण्डा अघि सारेका थिए । शिक्षा, स्वास्थ्य र सरसफाई उनको चुनावी नारा थियो । सामाजिक रूपान्तरणको मुद्दा पनि अघि सारेका सिरहा क्षेत्र नम्बर २ का उम्मेदवार यादवले ४२ मत पाएका थिए ।

टिप्पणीहरू