पद जाने भएपछि व्यक्ति हत्याको बात लागेका सांसदको हारगुहार : ‘म बिरामी छु’
प्रहरीको फरार सूचीमा रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफू अस्वस्थ भएको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएका छन् ।
लगातार १० वटा बैठकसम्म बिना सूचना अनुपस्थित हुँदा पद गुम्ने भएपछि व्यक्ति हत्याको आरोप लागेपछि भागेका उनले पद जोगाउन पत्र लेखेका हुन् । प्रतिनिधिसभा नियमावलीमा लगातार १० वटा बैठकमा नजाने सांसदलाई सभामुखले पदमुक्त गर्न सक्ने व्यवस्था छ ।
कोइरी १० वटा भन्दा बढी बैठकमा अनुपस्थित भइसकेका छन् । यहीबीच उनले आफू अस्वस्थ रहेको उल्लेख गर्दै संसदलाई पत्र पठाएका हुन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले कोइरीले बिरामी भएर संसद बैठकमा अनुपस्थित रहेको जानकारी संसद सचिवालयलाई गराए ।
उनका अनुसार कोइरीले दुई पटक पत्र पठाएका छन् । माघ २५ गतेदेखि अस्वस्थ भई उपस्थित हुन नसकेको र सुधार भएपछि उपस्थित हुन्छु भन्ने व्यहोराको पत्र सचिवालयमा आएको उनले बताए ।महोत्तरी–१ बाट निर्वाचित कोइरी २०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन विक हत्याको घटनाका अभियुक्त हुन् ।
२०७७ सालमा जनकपुर उच्च अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो । तर, अदालतको आदेश अवज्ञा गरी भागेका उनी अभियोग बोकेरै चुनावमा उठे र महोत्तरी–१ बाट निर्वाचित भए ।
मङ्सिर ४ को निर्वाचनमा उम्मेदवारी मनोनयनको मुखैमा जसपा परित्याग गरी बलियो पार्टी एमालेमा छिरेर सांसद जितेका उनी त्यसैको बलमा सांसदको सपथ खान र प्रधानमन्त्रीलाई विश्वासको मत दिन संसद बैठकमा उपस्थित भएका थिए । चार तहको सुरक्षा घेरा छिचोलेर संसद बैठकमा पुगेका कोइरी प्रहरीको फरार सूचीमा छन् ।
कोइरीलाई उनको दल एमालेले संरक्षण गरेको र सरकारले नै जोगाएको आरोप पनि छ । त्यसकारण उनलाई पक्राउ गर्न प्रहरीले आलटाल गरेको जानकारहरु बताउँछन् । कोइरी केही समयअघि भारतको पटनामा रहेको चर्चा थियो । प्रहरी भने उनी कहाँ छन् यकिन नभएको भन्दै पन्छिने गरेको छ ।
टिप्पणीहरू