प्रधानमन्त्री भेटेका महावीरले आन्दोलन गर्ने, एक्लै भए पनि पलेटी कस्ने

प्रधानमन्त्री भेटेका महावीरले आन्दोलन गर्ने, एक्लै भए पनि पलेटी कस्ने

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवम् अनुसन्धानकर्ता महावीर पुनले आन्दोलन घोषणा गरेका छन् ।  

अनुसन्धान, नवप्रवर्तन तथा आविष्कारका क्षेत्रसँग सम्बन्धित विभिन्न माग राख्दै भोलिदेखि आन्दोलन गर्न लागिएको बताइएको छ । 

बिहान ९ बजेदेखि राजधानीको माइतीघर मण्डलामा आन्दोलन थालिने अध्यक्ष पुनले बताए । सरकारले नवप्रवर्तनको क्षेत्रलाई बेवास्ता गरेकाले आन्दोलन गर्न बाध्य भएको उनको गुनासो छ । 

‘भोलि बिहान ९ बजेदेखि आन्दोलन शुरु गर्छौंं । सहभागी हुन चाहनेहरु स्वःइच्छाले आउन सक्नुहुन्छ । कोही आएनन् भने म आफैं माइतीघरमा पलेटी कस्छु’, उनले भने, ‘हामीले विज्ञान र प्रविधिलाई उच्च प्राथमिकता दिन सरकारसँग पटकपटक आग्रह गरिसकेका छौं । बेवास्ता गरेपछि आन्दोलनको घोषणा गर्नुपरेको हो ।’

उनले आन्दोलनमा सहभागिता जनाउन चाहनेलाई आफैं प्लेकार्ड र ब्यानर लिएर आउन आह्वान गरेका छन् । 

आन्दोलनका लागि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर’, ‘अनुसन्धान र नवप्रवर्तनको लागि हरेक वर्ष विकास बजेटको एक प्रतिशत रकम छुट्याउ’, ‘प्रतिभाशाली सन्ततिहरुलाई आवश्यक अनुसन्धान, नवप्रवर्तक र आविष्कार गर्न सहयोग गर’,‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवद्र्धन, सञ्चालन तथा खरिद ऐन बनाउ’, ‘नवउद्यमीहरुलाई हतोत्साहित नगर’, लगायत नारा तय गरिएको छ । 

अध्यक्ष पुनले अस्ति प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेर नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिन आग्रह गरेका थिए ।

टिप्पणीहरू