पहिचानवादीको विरोधमा आदिवासी जनजाति महासंघ

पहिचानवादीको विरोधमा आदिवासी जनजाति महासंघ

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएपछि लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आपत्ति जनाएको छ । झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित जानकी मन्दिरमा आयोजित कार्यक्रममा पुग्नुभएका अध्यक्ष ओलीमाथि हिजो सांघातिक हमलाको प्रयास भएपछि महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ अध्यक्ष पासाङ शेर्पाले पहिचानका नाममा एमालेमाथि सुनियोजित तवरले प्रहार गरिएको आरोप लगाएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभाका सदस्य र एमालेका नेताहरुमाथि मात्र लक्षित गरी व्यक्तिगत गालीगलौज, सामाजिक दुर्व्यवहारलगायत कुकृत्य गरिएको उनको भनाइ छ । 

हिजोको घटनाले पहिचानवादीहरुको मुद्दालाई नै ध्वस्त पारेको उनको ठहर छ । ‘सामाजिक सद्भाव, एकतालाई कमजोर बनाउने, साम्प्रदायिक विद्वेश फैलाउने र क्रमशः अपराधीकरणतर्फ उन्मुख यस्तो बदनाम आन्दोलनले अन्ततः सिंगो आदिवासी जनजाति आन्दोलन र पहिचानको मुद्दालाई नै ध्वस्त पार्दछ’ आज जारी विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, महासंघले असामाजिक, अराजनीतिक र अराजक गतिविधिहरुमा संलग्न नहुन र सामाजिक न्याय एवम् संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको पक्षमा दृढतापूर्वक उभिन एमालेसम्बद्ध संघसंस्थालाई आग्रह गरेको छ । 

यता, कोशी प्रदेश नामाङ्कनविरुद्ध आन्दोलन चर्काइरहेको ‘प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ ले एमाले अध्यक्ष ओली आफूहरुको आन्दोलनलाई उछाल्ने बदनियतका साथ झापा आएको आरोप लगाएको छ । 

ओलीकै अगुवाई र निर्देशनमा कोशी नामाङ्कन भएकाले उनी सहभागी कार्यक्रममा आफूहरुले शान्तिपूर्ण तवरले विरोध प्रदर्शन गर्न खोज्दा सुरक्षाकर्मीले अनावश्यक बल प्रयोग गरेको समितिको आरोप छ ।

टिप्पणीहरू