गोकुलले त्यसो भनेर बिच्क्याए

गोकुलले त्यसो भनेर बिच्क्याए

एक मतले मात्रै भए पनि जिताएर चितवन–२ मा गुमेको आफ्नो बिरासत जोगाउने भन्दै चुनावी कमाण्डरको रूपमा खटिएका एमाले नेता गोकुल बाँस्कोटाले इच्छाकामना –३ चुम्लिङटारको होटल सिद्धार्थमा आयोजित कार्यकर्ता भेलामा शंख फुक्ने सूर्यमा भोट हाल्ने, यदि सूर्यमा भोट नहाल्ने हो भने एमाले छाड्ने– काला गए, गोरा आउँछन् भनेको हप्ता दिन नकट्दै नतिजा त्यस्तै आयो । चितवनमा अड्डा जमाएर बसेका उनै बाँस्कोटा मतगणनाको अन्तिम परिणाम नआउँदै बाटो लागेको कार्यकर्ताले आरोप लगाउँदै गर्दा स्थानीय नेताहरूको भूमिकाबारे राम्रै चर्चा चल्न थालेको छ ।

उपनिर्वाचन जिताएरै छाड्ने अड्डी कसेका बाँस्कोटालाई जनआस्थाको गत मंसिरमा तेस्रो भएको पार्टी यसपालि कसरी जित्छ भन्ने प्रश्नको जवाफमा रुखो शैलीमा भने, ‘देख्नु भएन कसरी जित्छ भनेर ? यो पनि कुनै प्रश्न हो ? एमालेले जित्छ भनेसी जित्छ, जसरी पनि जित्छ ।’ ग्रास रुट अभियान चलाएर भसक्कै एमाले बनाउने गोकुलको टर्रो स्वभावका कारण मंसिरमा आएको मत आधै घट्यो । 

चाहना रामप्रसाद न्यौपानेको भन्दा पनि कालिका नगरपालिकाका पूर्वमेयर खुमनारायण श्रेष्ठ (गोपी) को थियो । तर, माओवादी, कांग्रेससहितको पाँचदलीय गठबन्धनले कांग्रेसका जितनारायण श्रेष्ठलाई उठाएपछि नातामा दाजुभाइ पर्ने गोपी पछि हटे । कालिका नगरपालिकामा मेयर, उपमेयरसहित बहुमत छ एमालेको । इच्छाकामना गाउँपालिकामा पनि अध्यक्ष, उपाध्यक्षसहित बहुमत छ उसैको । तर बिडम्वना गाउँपालिका अध्यक्षको वडा जहाँ एमालेको गढ मानिन्थ्यो, त्यहीं उसको लज्जास्पद मत आयो ।

गाउँपालिका उपाध्यक्ष मात्र होइन प्रदेश सांसद नै भएको वडा नं. ५ मा एमाले नराम्ररी खुस्कियो । गत मंसिरको निर्वाचनमा यो क्षेत्रमा पहिलो बनेको एमाले यसपटक तेस्रो भयो । मंसिरको निर्वाचनमा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार मत ल्याएका थिए तर अहिले १० हजार ९ सय ३५ मा खुम्चियो एमाले । एकाथरी एमालेको बुझाइअनुसार कुनै बेला माधव नेपालनिकट रहेका एमाले कसैले पनि यसपालि सहयोग गरेनन् । भोट घण्टीमा बजाए । जम्मा ७८ हजार २ सय ७७ मतमा रवि एक्लैले ५४ हजार १ सय ७६ मत ल्याएर विजयी भए । जबकि मंसिरमा सम्पन्न आमनिर्वाचनमा उनले ४९ हजार ३०० मात्र प्राप्त गरेका थिए ।
 

टिप्पणीहरू