एमाले अध्यक्षले फेक एकाउण्टको सहारा लिएको पूर्वराजाको सचिवालयको संकेत

एमाले अध्यक्षले फेक एकाउण्टको सहारा लिएको पूर्वराजाको सचिवालयको संकेत

पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरेको उनको संवाद सचिवालयले जनाएको छ । 

आज सचिवालयले सूचना जारी गरेर पूर्वराजा शाह, उनकी पत्नी पूर्वरानी कोमल र बुहारी पूर्वयुवराज्ञी हिमानी शाहले सामाजिक सञ्जाल चलाउने नगरेको स्पष्ट पारेको हो ।  

एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्रले आफ्नी बुहारीलाई अघि सारेर समाजिक सञ्जालमा आफूविरुद्ध लेखाएको आरोप लगाएको भोलिपल्टै त्यसको खण्डनमा सचिवालयले यस्तो सूचना दिएको हो । हिजोको घटनालाई उद्धृत नगरिएको उक्त सूचनामा यस्ता निराधार, कपोलकल्पित भ्रमजालबाट मुक्त रहन आग्रह गरिएको छ । 

हिजो इलामको एउटा कार्यक्रममा ओलीले झापामा आफूविरुद्ध भएको ‘आक्रमण’ लाई ‘जनताले ढुंगा हानेको’ भनि हिमानी शाहले ट्वीट गरेको भन्दै चर्को आक्रोश पोखेका थिए । त्यसक्रममा ओलीले पूर्वराजा ज्ञानेन्द्रले छोराबुहारीलाई अघि सारेर फुरफुर गरेको बताएका थिए ।

त्यसो त, पूर्वराजपरिवारका सदस्यहरुका नाममा खोलिएका फेसबुक, ट्वीटरमा लेखिएका विषय यसअघि पनि पटक–पटक विवादमा परेको थियो । खासगरी हिमानीको नाममा रहेको फेसबुक र ट्वीटरमा आउने टिप्पणी बढी आलोचित हुने गरेको छ । तथापि उक्त एकाउन्ट हिमानी शाहको नाममा खोलिएको फेक भन्ने पुष्टी भैसकेको छ । 

२३ मंसिर २०७८ मा पनि पूर्वराजा ज्ञानेन्द्रको सचिवालयले पूर्वराजा शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानीले सामाजिक सञ्जाल चलाउने नगरेको जानकारी गराएको थियो । आजको सूचनामा पनि सो कुरा स्मरण गराइएको छ ।

यो पनि...

1.एमाले अध्यक्षकाे बासस्थान वरपर कडा सुरक्षा, सांसदलाई कालोझण्डा ओढाउने प्रयास

टिप्पणीहरू