व्यक्ति हत्याका आरोपित एमाले संसद संसदीय समितिमा सिफारिस

व्यक्ति हत्याका आरोपित एमाले संसद संसदीय समितिमा सिफारिस

कर्तव्य ज्यान मुद्दाका आरोपित, प्रहरीको फरार सूचीमा रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी संसदीय समितिमा सिफारिस भएका छन् । एमालेले उनलाई संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस गरेको हो । 

एमालेले संघीय संसद सचिवालयमा बुझाएको समितिमा रहने सांसदहरुको सूचीमा कोइरीसँगै सांसदहरु रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव र मंगलप्रसाद गुप्ताको नाम छ । 

महोत्तरी–१ बाट निर्वाचित कोइरी २०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन विक हत्याको घटनाका अभियुक्त हुन् । २०७७ सालमा जनकपुर उच्च अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो । तर, अदालतको आदेश अवज्ञा गरी भागेका उनी अभियोग बोकेरै चुनावमा उठेर महोत्तरी–१ बाट निर्वाचित भए । 

मङ्सिर ४ को निर्वाचनमा उम्मेदवारी मनोनयनको मुखैमा जसपा परित्याग गरी बलियो पार्टी एमालेमा छिरेर सांसद जितेका उनी त्यसैको बलमा सांसदको सपथ खान र प्रधानमन्त्रीलाई विश्वासको मत दिन संसद बैठकमा उपस्थित भएका थिए । चार तहको सुरक्षा घेरा छिचोलेर संसद बैठकमा पुगेका कोइरी प्रहरीको फरार सूचीमा छन् । 

कोइरी भगाएको आरोप लागिरहेका बेला एमालेले संसदको विषयगत समितिमा उनको नाम सिफारिस गरेको हो । 

कोइरीले हिजोमात्रै आफू अस्वस्थ भएको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएका थिए । लगातार १० वटा बैठकमा बिना सूचना अनुपस्थित हुँदा पद गुम्ने भएपछि पद जोगाउन उनले पत्र लेखेका हुन् । प्रतिनिधिसभा नियमावलीमा लगातार १० वटा बैठकमा नजाने सांसदलाई सभामुखले पदमुक्त गर्न सक्ने व्यवस्था छ ।

टिप्पणीहरू