व्यक्ति हत्याका आरोपित एमाले सांसदलाई जोगाउन खोजेको भन्दै संसदमा 'लफडा '

कर्तव्य ज्यान मुद्दाका आरोपित नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको अनुपस्थितिलाई लिएर संसदमा लफडा चर्किएको छ । 

सभामुख देवराज घिमिरेले संसदमा अनुपस्थित सांसदहरुको नाम सुनाउने क्रममा प्रहरीको फरार सूचीमा रहेका कोइरीलाई 'बिरामी भएको' बताएपछि सत्तापक्षका सांसदहरुले कडा प्रतिवाद गरे ।

१० भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुकाबारे सूचना दिने क्रममा सभामुख घिमिरेले कोइरी बिरामी भएकाले बैठकमा उपस्थित हुन नसकेको बताएपछि कांग्रेस, माओवादी, रास्वपा, राष्ट्रिय जनमोर्चाका सांसदहरुले आपत्ति जनाएका थिए । कांग्रेसका रमेश लेखकले ‘बिरामी’ शब्द रेकर्डबाट हटाउन माग गरे । 

त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले कोइरी बिरामी नभएको र भागेर भारत गएको बताउँदै अभियुक्तलाई जोगाउने प्रयास नगर्न सचेत गराए ।  

तर, सभामुख घिमिरेले लक्ष्मी महतो कोइरी ‘बिरामी’ भएर बैठक अनुपस्थित भएको रेकर्डबाट हटाउन रुलिङ गर्न मानेनन् । यसपछि सांसदहरुले उठेर विरोध जनाइरहे । सभामुखले पटक-पटक आफ्नो ध्यानाकर्षण भएको जनाउँदै बस्न आग्रह गर्दा पनि सांसदहरुले  नमानेपछि ३० मिनेटका लागि बैठक स्थगित भएको छ । 

महोत्तरी–१ बाट निर्वाचित कोइरी २०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन विक हत्याको घटनाका अभियुक्त हुन् । २०७७ सालमा जनकपुर उच्च अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो । तर, अदालतको आदेश अवज्ञा गरी भागेका उनी अभियोग बोकेरै चुनावमा उठेर महोत्तरी–१ बाट निर्वाचित भए । 

मङ्सिर ४ को निर्वाचनमा उम्मेदवारी मनोनयनको मुखैमा जसपा परित्याग गरी बलियो पार्टी एमालेमा छिरेर सांसद जितेका उनी त्यसैको बलमा सांसदको सपथ खान र प्रधानमन्त्रीलाई विश्वासको मत दिन संसद बैठकमा उपस्थित भएका थिए । चार तहको सुरक्षा घेरा छिचोलेर संसद बैठकमा पुगेका कोइरी प्रहरीको फरार सूचीमा छन् । 

 आजमात्रै एमालेले कोइरीको नाम संसदीय समितिमा सिफारिस गरेको छ ।

प्रतिनिधिसभा नियमावलीमा लगातार १० वटा बैठकमा नजाने सांसदलाई सभामुखले पदमुक्त गर्न सक्ने व्यवस्था छ । कोइरी लगातार २१ औं बैठकमा अनुपस्थित छन् ।

टिप्पणीहरू