कर्णालीका मुख्यमन्त्रीलाई चार महिनामा तीनचोटी विश्वासको मत
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक पनि विश्वासको मत पाएका छन् । पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका उनले यसबीचमा गठबन्धनमा फेरबदल हुँदा पटक-पटक विश्वासको मत लिनुपरेको हो ।
माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता शर्मा पुस २७ गते नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र राप्रपाको समर्थनमा मुख्यमन्त्री भएका थिए । उनले माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका थिए ।
केन्द्रमा सत्ता समीकरण फेरिएलगत्तै राप्रपा कर्णाली सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक चैत १७ गते विश्वासको मत लिए । त्यसपछि पुन: एमालेले समर्थन फिर्ता गर्दा आज उनले प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव राखेका हुन् ।
३९ सदस्यीय प्रदेशसभाका २९ जनाले प्रस्तावको पक्ष र १० जनाले विपक्षमा १० मत दिएका छन् । शर्माले नेकपा एमाले र राप्रपाबाहेक सबै दल तथा स्वतन्त्र सांसदको मत प्राप्त गरेका हुन् । उनलाई माओवादीको १३, कांग्रेसको १४, एकीकृत समाजवादी र स्वतन्त्र एक/एक जना सांसदले पक्षमा मत हाले । विपक्षमा एमालेका १० जनाको मत पर्यो ।
कर्णालीमा हाल माओवादी र कांग्रेसको गठबन्धन सरकार छ ।
टिप्पणीहरू