भूकम्पले घर ढाल्यो, सरकारले मौलिकता !

भूकम्पले घर ढाल्यो, सरकारले मौलिकता !

सोलुखुम्बु हिमालहरूको केन्द्र र साहसिक पर्यटनको पनि केन्द्र हो । यत्ति मात्रै होइन सोलुखुम्बु विभिन्न कलाको केन्द्र हो । शेर्पा तथा किराती राई समुदायको रैथाने क्षेत्र सोलखुम्बुमा नेवारी सभ्यताको प्रवेश धेरै अगाडि भएको थियो । नेपाली कलाका घरहरू सोलुखुम्बुमा मज्जाले देख्न सकिन्छ । शताब्दी पुराना कलात्मक नेवारी घरहरू सोलुखुम्बु बजार क्षेत्रका सांस्कृतिक तथा कलाका विम्ब हुन् । तिनै विम्ब बोकेर सोलुखुम्बुमा बसेका दम्पती हुन् छविनारायण राजभण्डारी र इन्दिरा भण्डारी ।

सय वर्ष पुरानो मौलिक घर थियो उनीहरूको । पुख्र्याैली घर बनाउन कमेरोले पोतिएको छ । चाँपको काठ, ढुंगा प्रयोग भएको छ । माटो प्रयोग भएको छ । तीन तले घरमा तीन ठूला बस्ने कोठा छन् । अहिले यो घर बस्न सक्ने अवस्थामा छैन । २०७२ वैशाख १२ गते आएको गोर्खा भूकम्पले बस्न नमिल्ने भएको छ । अहिले पनि सोलुखुम्बु सदरमुकाम सल्लेरी बजारसँग सँधियारी भएर बनेको बजार दोर्पुको यो घर उभिइरहेको छ । तर, यसमा घरवाला उभिने अवस्था छैन । ९० सालको भूकम्प थामेको यो मौलिक घरले ०४५ सालको भूकम्प पनि थामेको थियो । ०७२ सालको भूकम्पमा आसपासका घरहरू बिजोग भएर भत्किए । लडे । तर, यो घर लडेन । बाहिरबाट हेर्दा घरमा केही भएजस्तो देखिन्न । तर, भित्री संरचनामा केही धर्का परेका छन् । चिरा परेका छन् । यसले बस्न सक्ने अवस्था छैन । बस्न नमिल्ने घर अगाडि गफिएका छविनारायण राजभण्डारी भन्दै थिए, ‘आफ्नो इतिहास भएको घर हो । भत्काउन सकिन्न । बस्न पनि सकिन्न ।’ 

भूकम्प आएको दिन शनिबार थियो । छविनारायण घरमै टिभी हेरेर बसिरहँदा भूकम्प आयो । सोलुखुम्बुको सल्लेरी च्याल्सा विद्युत् कम्पनीका सुपरभाइजर छविनारायणले आफ्नो वंशज इतिहास भएको घरमा बिताउन पाएको अन्तिम दिन त्यही भयो । भूकम्पले दोर्पुमा कुनै मानवीय क्षति गरेन तर दोर्पु गाउँमा भएका ऐतिहासिक घरहरूमा भने धेरै क्षति पुर्‍यायो । आफ्नो बिरासत, संस्कार र संस्कृति अनि इतिहास बोकेको घरहरू ढले । घरहरूसँगै एउटा वास्तुकलाको इतिहास ढल्यो । त्यसको दुखित साक्षी बने छविनारायणहरू । अहिले पुनर्निर्माणको नाममा प्रिफ्याबको घर बनेको छ । आफ्नो पुख्र्याैली घरपछि बनेको प्रिफ्याब घर रंगिचंगी छ तर त्यसमा कुनै आकर्षण छैन । उनलाई त पुरानै घर मन परेको छ । पुरानै डिजाइन मन परेको छ । छविनारायणलाई जस्तै पुरानो घर र पुरानो कला मन पराउनेहरू धेरै छन् तर उनीहरूले पुरानो तरिकाले घर बनाउन पाएनन् । 

सरकारकाे इञ्जिनियरिङ बिधाले गाउँकाे कला र वास्तुलाई  चिनेन । घर ढल्दा घर बनाउने मात्रै साेच्याे ।

नेपाल सरकारले भूकम्पको क्षति भएका घरहरू बनाउने कार्यक्रम ल्यायो । सहयोग ल्यायो । पुनःनिर्माणको काम सकेर पुनःनिर्माण प्राधिकरणले अहिले औपचारिक रूपमा प्रमुख कामहरू सिध्याएको छ । तर, पुनःनिर्माण प्राधिकरण खासगरी नेपाल सरकारको इञ्जिनियरिङ विधाले गाउँको कला र वास्तुलाई चिनेन । यसले घर ढल्दा घर बनाउने मात्रै सोच्यो । घरको कला, इतिहास, संस्कृति र वास्तु जोगाउनेबारे सोचेन । सरकारले तोकेको सूत्रमा नक्सा पासदेखि सरसामान प्रयोग गरेर घर बनाउने नियम बनाइयो । यो सरकारी उर्दी र नियममा स्थानीयसँग सोधिखोजी गरिँदै गरिएन । उनीहरूको धारणा बुझ्दै बुझिएन । बलियो घर बनाउने नाममा पुरानो शैलि, सामान र तरिकाले घर बनाउन बन्दै गरियो । कंक्रिटदेखि प्रिफ्याब घर बनाउन जोड दिइयो । त्यसको पीडित बने छविनारायण । 

छविनारायण जस्तै अर्का पीडित हुन् छिमेकी हरिनारायण राजभण्डारी । हरिनारायणको पुरानो घरको अहिले नामोनिशान छैन । उक्त ऐतिहासिक घर भएको ठाँउमा नयाँ आधुनिक भनिएको घर उभिएको छ । पुरानो घर पुर्खाहरूको डिजाइनमा बनेको थियो । नयाँ घर इञ्जिनियर सुमन राईले डिजाइन गरेका हुन् । तीन तलाको घर २०७५ ताका पूरा भएको थियो । अहिले हरिनारायणको परिवार यसै नयाँ घरमा बस्दै आएका छन्् । ‘माया त पुरानै घरको थियो नि, के गर्नु भूकम्पले माया गरेन’, हरिनारायणको दुःखेसो छ, ‘नहुनुभन्दा केही हुनु राम्रो हो भनेर यसैमा जबरजस्त चित्त बुझाउनुपरेको छ ।’ हरिनारायण राजभण्डारीकी छिमेकी सानुमाया श्रेष्ठदेखि गणेश राजभण्डारीहरूको घरको हालत पनि यस्तै छ । दोर्पु बजारका नेवार समुदायको मात्रै पुराना कलात्मक घर विनाश भएका छैनन् । 

शेर्पा समुदायका मौलिक घर पनि त्यस्तै समस्यामा परेका छन् । त्यस्ता समस्यामा परेका एक हुन् ग्याल्जेन शेर्पा । ग्याल्जेनको पनि शेर्पा मौलिकताको घर थियो । त्यो भूकम्पबाट भत्कियो । अहिलेको घर आधुनिक बनेको छ । ग्याल्जेनलाई भने पुरानै घर प्रिय लाग्छ । पुरानो घरमा माया धेरै परेको बताउँछन् । पुर्खाले डिजाइन गरेको पुरानो घरमा बस्न नपाएका ग्याल्जेन अहिले इञ्जिनियर रोशन दुलालले डिजाइन गरेको घरमा बस्दै आएका छन् । २०७२ सालमा आएको भूकम्पले सोलुखुम्बुका धेरै संरचनामा असर गरेको थियो । १२ हजार ४ सय २८ पूर्ण लाभग्राही भएको सरकारी तथ्यांक छ । ५४५ जना भने प्रबलीकरण लाभग्राही थिए । तिनै सरकारी भाषाका ‘लाभग्राही’ हुन् छविनारायण राजभण्डारी, हरिनारायण राजभण्डारी, सानुमाया श्रेष्ठ, गणेश राजभण्डारीदेखि ग्याल्जे शेर्पाहरू ।

सरकारले लाभग्राही भने पनि वास्तुकला, संस्कार, संस्कृतिदेखि कलाको पक्षमा पुरानो घरसँग सकिएको विरासत हेर्दा उनीहरू लाभग्राही होइनन् । बरु पीडित हुन् । पुरानो कला, संस्कृतिलाई जोगाउँदै अगाडि जान नसक्ने सरकारी इञ्जिनियरिङको मारमा परेकाहरू हुन् उनीहरू । बलियो बनाउने नाममा सलाइका बट्टाजस्तै संरचना ठड्याएर सबैलाई उस्तै बनाउने कुरामा सरकार खुशी छ । तर, सरोकारवालाहरू दुःखी छन् । पुरानो तरिकाले बन्ने घर कमजोर भन्ने सरकारी तर्कमा उनीहरू आफ्ना कैयौँ भूकम्प झेलेर पनि उभिएका सुरक्षित संरचना देखाएर अविश्वास गर्छन् । सरकारले चाहेमा पुरानो वास्तुकला, संस्कार, संस्कृति जोगाएरै घर बनाउन सक्ने सम्भावना छविनारायण राजभण्डारीलाई लाग्छ । 

‘हामीले खोजेको त पुरानै घर हो, सरकारले पुरानो घर बनाउन पुरानै तरिकालाई बलियो बनाउन सक्नुपर्ने हो, सकेन’, छविनारायणसँग गुनासो छ, ‘सरकारले त देशको इतिहास, संस्कृति, वास्तु र आदिवासी कलालाई जोगाउने तर्फ सोच्नुपर्ने थियो । त्यो सोचेको त परै जाओस्, गरेकोसम्म पनि पाइएन ।’ पुराना घर बनाउने मिस्त्री र सामान नपाइने भनिए पनि सरकारले चाहेमा त्यी सम्भव हुने छविनारायणको बुझाइ छ । भन्छन्, ‘सरकारले राम्रो आर्थिक सहजीकरण मात्रै गरिदिओस् न, एक से एक काम हुने अवस्था अहिले पनि छ । मान्छेलाई हौसला र पैसा नभएर मात्रै पुराना कुरामा ध्यान नगएको हो । हौसला हुनासाथ सबै कुरा हुन्छ ।’ 

छविनारायणको कुरामा अरु छरछिमेकी सहमत छन् । सहमत हुनेमा नेपाली मौलिकता नेपाली घरमा हुनुपर्ने पक्षमा बोल्नेहरू पनि छन् । तर, सरकार र सरकारी निकाय यो कुरामा किन मौन छ ? यो मुद्दामा सरकारले किन ध्यान दिएको छैन ? जसरी काठमाडौँका सम्पदालाई पुरानै शैलीमा बनाउन सरकार खर्च गर्न तयार भयो, ठीक त्यसैगरी व्यक्ति, समुदायका संरचनामा खर्च किन गरिएन ? यी र यस्ता सवाल गम्भीर छन् । 

यो मुद्दा सोलुखुम्बु सदरमुकाम नजिकैको सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पु बजारको मात्रै होइन । यो मुद्दा २०७२ पछिको भूकम्पबाट भएको क्षतिलाई पुनर्निर्माण गर्ने सवालमा भएको कार्यक्रमको मात्रै होइन । यो त नेपाली परम्परागत घरहरूलाई पछिसम्म जोगाउने, थप बलियो बनाउने पक्षमा सरकारले आफ्नो इञ्जिनियरिङ व्याकरण मिलाउँदैन भन्ने सवाल हो । यो त नेपालका गाउँगाउँमा हुने घरका मौलिकता पछिका पुस्तालाई पनि जस्ताको तस्तै देखाउन राख्ने सवाल हो । यसमा सरकार गम्भीर हुनुपर्छ । सरकारी इञ्जिनियरिङ क्षेत्रले बुझ्नुपर्छ । 
 

टिप्पणीहरू