भोलि कीर्तिपुरमा क्रिकेट हेर्न पैसा नलाग्ने

भोलि कीर्तिपुरमा क्रिकेट हेर्न पैसा नलाग्ने

वर्षाका कारण ‘रिजर्भ डे’ मा सरेको एसिसि प्रिमियर कपको फाइनल खेलका लागि दर्शकले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा निःशुल्क प्रवेश पाउने भएका छन् । 

आज भएको नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको फाइनल खेल वर्षाले बिथोलेपछि भोलिका लागि सारिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज टिकट काटेका दर्शकहरूले भोलि मैदानमा निःशुल्क प्रवेश पाउने जानकारी दिए ।

वर्षाले खेल रद्द हुनुअघि आज यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको थियो । भोलि यही अवस्थाबाट बिहान ९ बजेदेखि खेल सुरु हुनेछ ।

भोलिको खेल पनि वर्षाले अवरुद्ध भए सुपर ओभर खेलाएर विजेता टुंगो लगाइनेछ । त्यो पनि सम्भव नभए आइसीसी विश्व वरीयतामा यूएईभन्दा अगाडि रहेको नेपाल विजेता घोषित हुँदै आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिसि प्रतियोगिताका लागि छनोट हुनेछ ।

टिप्पणीहरू