एमाले अध्यक्षको ठोकुवा : मुलुक टाट पल्टिँदै छ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक टाट पल्टिन लागेको दाबी गर्नुभएको छ । 

एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको ‘मिसन ग्रासरुट’ समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आर्थिक अवस्था टाट पल्टिन लागेको र वर्तमान सरकार रहिरहे देश असफल राष्ट्र बन्ने ठोकुवा गर्नुभएको हो । 

हालै सार्वजनिक राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनको हवाला दिँदै अध्यक्ष ओलीले देशको अर्थतन्त्र ओरालो लागेको र यही स्थिति रहे असफल राष्ट्रमा परिणत हुने बताउनुभयो । 

‘अर्थतन्त्र ओरालो लाग्यो । असफलतातिर लाग्यो भनेर प्रतिवेदन सार्वजनिक भएका छन् । अब डेढ वर्षमा अर्थतन्त्र सही बाटोमा फर्काउन सकिएन भने फेरि मुश्किल हुन्छ, देश असफल राष्ट्र बन्ने खतरा हुन्छ’, उहाँको भनाइ छ ।  

देशको अर्थतन्त्र संकटमा रहेको र  प्रचण्ड सरकार रहिरहे अनिवार्य टाट पल्टिने पनि ओलीले बताउनुभयो । आर्थिक अभावका कारण आयातमा समेत कमी आएको बताउँदै ओलीले तीव्र गतिका साथ अर्थतन्त्र ‘माइनस’ मा गएको जिकिर गर्नुभयो ।

टिप्पणीहरू