ईश्वरको नाम उच्चारण नगरे पनि उपेन्द्र यादव नास्तिक होइनन् : डा. वीरेन्द्र महतो
चार्टर्ड एकाउण्टेण्टसमेत रहेका डा. वीरेन्द्र महतो सिराहा जिल्लाबाट निर्वाचित सांसद हुनुहुन्छ । उपेन्द्र यादव अध्यक्ष रहेको तत्कालीन मधेशी जनअधिकार फोरमका तर्फबाट उहाँ दोस्रो संविधानसभामा सभासद् हुनुहुन्थ्यो । समाजसेवाबाट राजनीतिमा जोडिनुभएका महतोको परिवार तथा नातेदार गरि तीन जना अहिले प्रतिनिधिसभामा सांसद छन् । उनीहरु सबै प्रत्यक्ष निर्वाचित हुन् ।
धनुषा क्षेत्र नम्बर ३ बाट निर्वाचित एमालेकी जुली महतो उनकी बहिनी हुन् भने ज्वाईं एमाले सचिव रघुवीर महासेठ क्षेत्र नम्बर ४ का सांसद हुन् । उनीहरुको राजनीतिमा गैरआवासीय नेपालीहरुको संस्था एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको योगदानको पनि चर्चा हुने गर्छ । जसपाका नेतासमेत रहेका सांसद वीरेन्द्र महतोसँग जनआस्थाका लागि राजकुमार रायले गरेको समसामायिक कुराकानी :
तपाईंको पार्टीका अध्यक्ष उपेन्द्र यादव बारा–२ बाट हालै निर्वाचित हुनुभएको छ । उहाँले आज पद तथा गोपनियताको शपथ पनि लिनुभयो । निर्वाचनको समीक्षा पक्कै पनि गर्नुभएको होला, निचोड सुनाइदिनुहुन्छ ?
चुनाव भनेको चुनावै हो । प्रतिस्पर्धा भयो, हामीले जित्यौँ पनि । तर, हाम्रो अपेक्षाअनुरुप मत भने पाएनौं । र, पनि पाँच हजारभन्दा बढी मतान्तरले विजयी भयौँ । जिल्ला बाहिरका उम्मेदवार भएकाले मतदाताले उहाँलाई बुझ्न समय लाग्यो, तर बुझिसकेपछि सुझबुझपूर्ण निर्णय गरेर जिताए । यो राम्रै भएको छ । चुनावको परिणामबाट हामी सन्तुष्ट नै छौँ ।
जनमत पार्टीका अध्यक्ष सिके राउतको चुनावमा उपेन्द्र यादवप्रति नकारात्मक दृष्टिकोण देखियो । आफ्नो दललाई जिताउनेभन्दा पनि यादवलाई हराउने कुरालाई उहाँले प्राथमिकतामा राखेजस्तो देखियो । यसलाई कसरी हेर्नुभएको छ ?
चुनाव सबैले जित्नैका लागि लड्ने हो । तर, स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । सिके राउतजीहरुले अनर्गल प्रचार र आचारसंहिता विपरितका गतिविधि गर्नुभयो । बिनाआधार अनेक आक्षेप लगाउने काम भयो । उहाँ जस्तो नेताबाट त्यस्ता अभिव्यक्ति अपेक्षा गरिएको थिएन । त्यस्तो नहुनुपथ्र्यो । यो उहाँ आफैंले पनि समीक्षा गर्ने कुरा हो । तर, मलाई लाग्छ चुनाव सकिएसँगै अब त्यो च्याप्टर पनि क्लोज भइसक्यो । यसैलाई थप बहसको विषय बनाइरहनु जरुरी छ भन्ने लाग्दैन ।
मधेसमा महन्थ ठाकुरको शक्ति क्षीण हुँदै गएको र सिके राउत उदाउँदै गरेको भन्ने चर्चालाई कसरी लिनुभएको छ ?
हेर्नुस्, राजनीतिमा फेस भ्यालु पनि हुने गर्दछ । जनताले राजनीतिक दल र नेताको परीक्षा आवधिक निर्वाचनमार्फत् हरेक पाँच वर्षमा गर्छन् । जनताको भावनाको कदर नगर्ने, उनीहरुलाई नबुझ्ने नेता र पार्टीलाई हराउने र त्यसको ठाउँमा अर्को मान्छे आउने यो स्वाभाविक प्रक्रिया हो । जो जनताको विश्वास जित्न इमान्दारिताका साथ काम गर्छ उ अगाडि आउँछ र शक्तिका रुपमा देखा पर्छ । कुनै समय महन्थ ठाकुरहरुले पनि जनतालाई विभिन्न आश्वासन दिनुभयो, तर समयक्रममा उहाँहरु तल झर्दै जानुभएको छ । राजनीतिमा यो क्रम चलिरहन्छ ।
उपचुनावमा उपेन्द्रले मधेसी जनताको आत्मसम्मान र पहिचानको मुद्दालाई गौण र भौतिक विकासको एजेण्डालाई प्राथमिकतामा पारेको देखियो । मधेश आन्दोलनबाट उदाएको नेता, तर सामाजिक विभेद, विकृति, विसंगति हटाउने मुद्दा चुनावी एजेण्डा नबनेको हो कि भन्ने आमबुझाइ छ, यसप्रति यहाँको टिप्पणी के छ ?
उहाँ मधेस र मधेसीको पहिचान र अधिकारका लागि लडेको नेता हो । उहाँले नै अघि सारेका थुप्रै मुद्दाहरु स्थापित भसकेका छन् । कतिपय एजेण्डा स्थापित गराउन बाँकी छ । त्यसका लागि अहिले पनि विभिन्न ढंगले संघर्ष भइरहेको छ । सँगसँगै मधेसमा भौतिक विकास पनि आवश्यक छ । यसका लागि जनता आफैं पनि जागृत हुनुपर्छ । सामाजिक कुरीति अन्त्य गर्न पहिलो भूमिका जनताकै हो । जनता सचेत भए भने नेताको मुख ताक्नु पर्दैन । त्यसका लागि हामी जनताको साथमा छौं, काँधमा काँध मिलाएर अघि बढिरहेका छौं ।
उपेन्द्र यादवलाई बढी सत्तामोह देखाएको आरोप पनि लाग्ने गर्छ । उपचुनावका दौरान पनि यस्ता आवाज यदाकदा सुनियो । के भन्नुहुन्छ ?
त्यस्तो बिल्कुल होइन । अहिले सत्तामा जानका लागि उहाँ उम्मेदवार बन्नुभएको पनि होइन । राष्ट्रले संसदमा उहाँको आवश्यकता महशुस गरेर जनताबाट निर्वाचित गराएर ल्याएका हौँ । उहाँजस्तो नेतालाई संसद बाहिर राख्नु हुँदैन भन्ने आममत थियो र छ । राष्ट्रिय राजनीतिमा उहाँको योगदान सबैलाई थाहा भएकै कुरा हो । राजनीतिक स्थिरताको निम्ति पनि उहाँलाई संसदमा ल्याउनुपर्ने आम बुझाइ भयो, सोहीअनुसार उहाँ चुनावमा जानुभएको हो । मधेस र सिङ्गै राष्ट्रको एजेन्डा संसदबाट पास गराउन उहाँको भूमिका महत्वपूर्ण हुनेछ भन्ने विश्वास पनि छ । ऐन, कानुन बनाउन सडकदेखि सदनसम्म विभिन्न मागहरु उठेका छन्, त्यसमा उहाँले आफ्नो भूमिका खेल्नुहुन्छ ।
यौटा फरक प्रसंग, उहाँले आज शपथ लिँदा ईश्वरको नाम उच्चारण गर्न चाहानुभएन, तथापि चुनावका बेला मन्दिर धाएर प्रचार प्रसारमा सक्रिय हुनुहुन्थ्यो । रमाइलो कुरा नि, कतै तत्कालीन राष्ट्रपति विद्या भण्डारीले त्यतिबेलाका प्रधानमन्त्री केपी ओलीलाई शपथ गराउँदा ‘त्यो पर्दैन’ भनेजस्तै गर्नुभएको हो कि ?
त्यस्तो होइन, धार्मिक आस्था सबैको मनमा हुन्छ । त्यो देखाउने या नदेखाउने व्यक्तिको आफ्नो कुरा हो । मलाई लाग्छ, उहाँ नास्तिक होइन । ईश्वरप्रति विश्वास राख्नुहुन्छ । त्यसकारण यसलाई अन्यथा बुझ्नु हुँदैन ।
अध्यक्षले चुनाव जितेपछि अब जसपाबाट अरु सांसद मन्त्री हुन नपाउने भए हैन ?
कसलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीले निर्णय गर्ने हो । व्यक्तिका चाहनाले हुँदैन । यसमा पार्टीको निर्णय नै सर्वोपरी हुन्छ । हाम्रो पार्टीमा मन्त्री बन्न प्रतिस्पर्धा पनि छैन । पार्टीको एजेण्डा कार्यान्वयन गर्न सरकारमा जाने हो, जो मन्त्री भए पनि कुनै फरक पर्दैन । त्यसकारण को मन्त्री हुने भन्ने अहिलेको सवाल नै होइन ।
टिप्पणीहरू