भारतीयले सुडान पुर्याएका आठ जनालाई काठमाडौं ल्याइयो
द्वन्द्वग्रस्त मुलुक सुडानको राजधानी खार्तुमबाट उद्धार गरिएका आठ जना नेपालीलाई गए राति काठमाडौं ल्याइएको छ । भारतीय प्लाष्टिक कम्पनीले दुबई हुँदै खार्तुम पुर्याइएका उनीहरुलाई शारजाहबाट एअर अरेबियाको उडानमा स्वदेश ल्याइएको बताइएको छ ।
एअर अरेबियाको उडान नम्बर जी९५३० मा काठमाडौं ल्याइएका उनीहरुलाई इजिप्ट सरकारको सहयोग र साउदीको जेद्दास्थित नेपाली दूतावासको समन्वयमा उद्धार गरिएको हो ।
उद्धारपछि काठमाडौं आइपुगेकामा गुल्मीका युवराज खड्का, कपिलवस्तुका तौलु धोवी, रुकुम पश्चिमका विवेक खत्री र दाङका कुमार बस्नेत हुन् । त्यसैगरी दाङका लिलाधर केसी, दाङकै सुजन रावत र बाँकेका धिरज घर्तीलाई पनि काठमाडौं ल्याइएको बताइएको छ ।
उनीहरुमध्ये आवश्यक कागजात नभएकालाई जेद्दास्थित नेपाली दूतावासले ट्राभल डकुमेण्ट बनाइदिएको हो । उद्धार गरिएका अन्य पाँच जनालाई जजिरा एअरवेजको उडानबाट पर्सि बिहान २ बजे ल्याउने तयारी गरिएको छ ।
टिप्पणीहरू