राति मलेसिया उड्ने सपना जब बिहानै खरानीमा फेरियो

राति मलेसिया उड्ने सपना जब बिहानै खरानीमा फेरियो

मलेसिया जान सर्लाहीबाट नाइटबस चढेर आएका ३९ वर्षे किशोर आज बिहान काठमाडौं आइपुग्ने बित्तिक्कै बितेका छन् । बिहान ५ बजे कलंकी आइपुग्दा सिटमा अचेत फेला परेका उनको वीर अस्पतालमा उपचार क्रममा साढे ५ बजे निधन भएको हो ।

सर्लाहीको  पडोरिया घर भएका उनले लामो समयसम्म मलेसियामा काम गर्दै आएका थिए । तीन महिने बिदामा घर आएका उनी आज राति पौने ९ बजे मलेसिया फर्कंदै थिए ।   हिजो साँझ सर्लाहीबाट ना.७ ख २७७३ नम्बरको शिवपावर्तती रात्रिबस चढेका उनी कलंकीमा सबै यात्रु झरे पनि सिटमा सुतेको अवस्थामा फेला परेका थिए । अचेत अवस्थामा तत्काल  उपचारार्थ  वीर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

प्रहरीले उक्त सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । घटनास्थल कलंकीमा प्रहरीको छ जनाको टोलीले आवश्यक सोधखोजपछि किशोरलाई अस्पताल पठाएको थियो ।साथमा रहेको पासपोर्ट र कागजातको आधारमा आज राति मलेसिया उड्ने योजना रहेको देखिएको हो ।

टिप्पणीहरू