माओवादी शिविरको अरबौंको घाेटाला छानबिन गर्न प्रधानमन्त्रीलाई राप्रपाको चुनौती

माओवादी शिविरको अरबौंको घाेटाला छानबिन गर्न प्रधानमन्त्रीलाई राप्रपाको चुनौती

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यसअघिका ठूला भ्रष्टाचारका फाइल पनि खोलेर छानबिन अघि बढाइएमा सरकारलाई आफ्नो पार्टीको समर्थन हुने बताएका छन् । उनले माओवादी क्यान्टनमेन्टलगायत ठूला भ्रष्टाचारका फाइलहरु पनि खोल्ने आँट गरेमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई राप्रपाको समर्थन रहने बताएका हुन् । 

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको एकताको प्रथम महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले सरकारले राजनीतिक स्वार्थरहित ढंगले नक्कली शरणार्थी प्रकरणका आरोपीहरुलाई पक्राउ गरेमा राप्रपाको समर्थन रहने जानकारी पनि दिएका छन् । यसअघिका नेपाल वायुसेवाको वाइडबडी, ललिता निवास,एनसेल र क्यान्टनमेन्ट घोटालाकाण्डका फाइल खोल्न उनले प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

लिङ्देनको भनाइ छ, ‘नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन् । अहिले केही मानिस पक्राउ परेका छन् । एकपछि अर्को उच्च पदस्थको नाम आइरहेको छ । म भन्न चाहन्छु : अहिले छानबिनको क्रम, कारबाहीको क्रम जसरी अगाडि बढेको छ । विगतका वाइडबडी, ललिता निवास, एनसेल काण्ड जस्तै यो काण्ड पनि सेलाएर जानु हुँदैन ।’

पूराना भ्रष्टाचारका फाइल खोलेर कारबाही अघि बढाइएमा प्रधानमन्त्रीलाई जति वर्ष सरकारमा बसे पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहने उनको भनाइ छ । तर क्यान्टनमेन्टको घोटालाकाण्ड उहाँकै शीरमाथि लागेको अध्यक्ष राजेन्द्रको आरोप छ । फाइल खोलेर प्रधानमन्त्रीले आफु चोखो रहेको प्रमाणित गरिदिएमा मात्रै अरुले विश्वास गर्ने आधार बन्ने उनको जिकीर छ ।

टिप्पणीहरू