स्वास्थ्य मन्त्रालयका अधिकांश कुर्सी रित्तै

स्वास्थ्य मन्त्रालयका अधिकांश कुर्सी रित्तै

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफूले जिम्मेवारी सम्हालेको मन्त्रालयका कर्मचारी बिहान १० बजेसम्म पनि कार्यालयमा हाजिर नहुने गरेको बताउनुभएको छ । उहाँका अनुसार मन्त्री साढे ९ बजे पुगे पनि कर्मचारी १० बजेसम्म कार्यालय नआएको पाइएको छ ।

आज बिहान कर्मचारीका अधिकांश कुर्सी रित्तै देखेपछि मन्त्री बस्नेतले सामाजिक सञ्जालमा सो कुराको जानकारी दिनुभएको हो । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको चौथो दिन आज सबै विभागको अनुगमन गरिएको मन्त्रीको दाबी छ । सो क्रममा अधिकांश कर्मचारी समयमा कार्यालय नआएको पाइएको हो । मन्त्रीले कर्मचारीहरुलाई तोकिएको समयमा कार्यालयमा उपस्थित भइसक्न निर्देशन दिनुभएको छ । कर्मचारीहरुको ढिलासुस्तीबाट आम नागरिकले समयमै सेवा पाउन नसकेको उहाँको ठहर छ । 

‘आज मिति २०८०–१–२५ गतेका दिन म बिहान ९ः३० बजे हाम्रो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगे अनि १० बजेपछि मन्त्रालयका सम्पूर्ण विभागहरुमा आफैं गएर हेर्दा धेरै ठाउँमा कर्मचारीहरु कार्यालय समयमा नपुगेको देखियो, यो पक्कै पनि राम्रो कुरा होइ,’ मन्त्रीले अगाडि लेख्नुभएको छ,‘समयमा कार्यालय नपुगे समयमा जनतालाई सेवा पनि दिन सकिँदैन । तसर्थ सम्बन्धित सबैले आआफ्नो जिम्मेवारी पूरा गर्नुहुनेछ भन्ने आशा लिएको छु ।’

यो अभियान मन्त्रालयमा मात्र नभएर प्रदेशदेखि स्थानीय तहसम्म लागु गरिने उहाँको प्रतिबद्धता छ । मन्त्रालयसँग जोडिएका हरेक निकायमा नियमित निरीक्षण गरिने पनि स्वास्थ्यमन्त्री बस्नेतले जानकारी दिनुभएको छ ।
 

टिप्पणीहरू