‘बिरालो बाँधेर श्राद्ध गर्ने होइन, पाँच सय र हजारका नोटमाथि प्रतिबन्ध लगाऔं’

राष्ट्रियसभा सदस्य कमला पन्तले हाल चलनचल्तीमा रहेका पाँच सय र एक हजारका दरका नोटमाथि प्रतिबन्ध लगाउनुपर्ने धारणा राखेकी छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा बोल्ने क्रममा माननीय पन्तको उक्त भनाइ आएको हो । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि बोल्ने क्रममा उनले अर्थतन्त्र उकास्न पाँच सय र हजार दरका नोट प्रतिबन्ध लगाउनुपर्ने बताइन् ।

‘हामी बिरालो बाँधेर श्राद्ध गर्नेतिर नजाऔँ । ठ्याक्कै के गर्ने हो त्यो भनौं, किसानको उत्पादन राज्यले किन्छ भन्ने हो भने किसानले उत्पादन बढाउँछ । सडकमा लगेर उत्पादन पोख्ने भए किन बढाउने ? राजस्व संकलनको समस्या के हो ? किन भएन राजस्व संकलन ? यसलाई रोक्ने कुरा के हो ? रोक्नेतिर जाऔं । भन्सारमा कहाँ चुहावट, अर्थमन्त्रीलाई जानकारी छैन भन्ने कुरामा म विश्वास गर्दिन ।’

पन्तका अनुसार पाँच सय र हजार दरका नोट बोरामा राखिएको छ । उनले मुलुकको अर्थतन्त्र अनौपचारिक क्षेत्रले सञ्चालन गरेकोतर्फ इङ्गित गर्दै उक्त धारणा राखेकी हुन् । उनले नेपाल राष्ट्र बैंकको आलोचना गरेकी छन् । सँधै रुन्चे स्वरमा प्रस्तुत भएर मौद्रिक नीति जारी गरेको भन्दै सांसद पन्तले केन्द्रीय बैंकको नीतिको खुलेर आलोचना गरेकी हुन् ।

टिप्पणीहरू