ढाकाले थमौती पाएकै दिन विन्ध्यवासिनीलाई प्रमाणपत्र

ढाकाले थमौती पाएकै दिन विन्ध्यवासिनीलाई प्रमाणपत्र

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ विन्ध्यवासिनी कंसाकार सांसद नियुक्त भएकी छन् । घुस काण्डमा मुछिएर निलम्बनमा परेका ढाकाकुमार श्रेष्ठको ठाउँमा उनलाई निर्वाचन आयोगले सांसदको प्रमाणपत्र दिएको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्न पार्टीको कोर टिमलाई बुझाउन भन्दै मेडिकल बिचौलिया दुर्गा प्रसाईं उर्फ मार्सीसँग रकम मोलमोलाई गरेको अडियो सार्वजनिक भएपछि रास्वपा केन्द्रीय समितिले उनलाई कारबाही गरेको थियो । सोही दिन समानुपातिक निर्वाचन प्रणालीको उम्मेदवार सूचीमा रहेकी कंसाकारलाई सांसद बनाउन आयोगमा सिफारिस गरिएको थियो । 

सोही आधारमा आयोगले उनलाई नियुक्तिको प्रमाणपत्र दिएको हो । तर, आजै ढाकाकुमारलाई सांसदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले रास्वपा केन्द्रीय समितिका नाममा अल्पकालीन अन्तरिम आदेश दिएपछि अन्योल उत्पन्न भएको छ । 

सर्वोच्चले रास्वपाको केन्द्रीय आचरण तथा अनुशासन समितिलाई संसदबाट हटाउनुको कारण देखाउन आदेश दिएको छ । अदालतको यो आदेशसँगै ढाकाको पद तत्काल जोगिएको छ भने प्रमाणपत्र बुझिसकेकी विन्ध्यवासिनीको शपथग्रहण रोकिने भएको छ । निर्वाचन आयोगका अनुसार अदालतबाट अर्को आदेश नहुँदासम्म उनको शपथ हुने छैन ।

टिप्पणीहरू