सिंहदरबारबाटै भागे सैनिक

सिंहदरबारबाटै भागे सैनिक

कसैलाई सुइँको नदिई ब्यारेकको तारबार नाघेर भाग्ने सैनिकहरूको खोजी गर्न थालिएको छ । रौतहटको पुरेनवा ब्यारेक, वीरदल गणमा कार्यरत सिपाही विशाल केसी वैशाख २० गतेदेखि बेपत्ता छन् । कपिलवस्तुको महेन्द्रकोट वडा नम्बर ७ घर भएका उनी कसैलाई जानकारी नगराई भागेका हुन् । 

सो दिन बेलुका ५ बजे गणको पेरिमिटर हाताबाट कुलेलम ठोकेका उनलाई सेनाले छ्याप्छ्याप्ती खोजिरहेको छ । ईन्द्रबहादुर खत्री क्षेत्री (केसी) का नाति तथा टानबहादुरका छोरा उनी हालसम्म फेला परेका छैनन् । ब्याच नम्बर २७६४०३ भएका उनलाई पक्राउ गरी उपस्थित गराउन भन्दै सेनानी योगेश महराले प्रहरीलाई पत्राचार गरेका छन् । 

त्यस्तै, चण्डीगण दल, सिंहदरबार ब्यारेकमा कार्यरत अर्का सिपाही पनि बेपत्ता भएका छन् । घर बिदा मागेर निस्किएका सिपाहीको अत्तोपत्तो नपाएपछि सेनाले धुइँपत्ताल खोज्न थालेको छ । सुर्खेतको गुर्माकोट गाविस वडा नम्बर १० का हिमाल राना ६ दिन बिदा मागेर ब्यारेकबाट निस्किएका थिए । 

झुपलालको नाति र ईश्वरबहादुर रानाको छोरा उनी वैशाख १६ गते हाजिर भइसक्नुपथ्र्याे । तर, सो दिन उपस्थित नै नभएको बुझिएको छ । उनले हालसम्म पनि सैनिक परिचयपत्र (डिजिटल स्मार्ट आईडी कार्ड) समेत नबनाएको पाइएको छ । 

अछामको पल्टन अन्तै

सेनाले अछामको भवानीबक्स गण, मंगलसेन ब्यारेकलाई सिन्धुलीको ठूलीटारमा सारेको छ । मंगलसेनका प्रमुख सेनानी विमलकुमार वाग्ले र बर्दबहादुर गणका लेफ्टिनेन्ट कर्णेल रमेश थापाबीच गणको बरबुझारथ भएको छ । ०७९–८० को योजनाअनुसार वैशाख २० गते गण हेरफेर गरिएको हो । 

(जनआस्था साप्ताहिकबाट साभार)

टिप्पणीहरू