प्रधानमन्त्रीले डाकेको बैठकमा काठमाडौंका मेयर अनुपस्थित

प्रधानमन्त्रीले डाकेको बैठकमा काठमाडौंका मेयर अनुपस्थित

आज दिउँसो सिंहदरबारमा बोलाइएको एउटा बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह अनुपस्थित भएका छन् । राजधानीमै रहेका साह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डाकिएको बैठकमा नगएको स्रोतले बतायो ।

काठमाडौं उपत्यकाको फोहोरमैला र ट्राफिक व्यवस्थापन सम्बन्धी बैठकमा बालेन अनुपस्थित भएका हुन् । जबकी उक्त बैठकमा ललितपुर महानगरलगायत उपत्यका सबैजसो नगरपालिकाका मेयरको उपस्थिति थियो । राजधानीको मुख्य शहर काठमाडौंको विकास, व्यवस्थान र सरसफाईको मुख्य जिम्मा लिएका उनै मेयरको अनुपस्थितिलाई सहभागीहरुले अर्थपूर्ण र गैरजिम्मेवार भनेका छन् ।  

बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, सहरी विकासमन्त्री सीता गुरूङ, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल, नुवाकोटका संघीय सांसदहरू हितबहादुर तामाङ, विमला सुवेदी, नेपाल सरकारका सचिवहरुलगायत सरोकार पक्षका प्रतिनिधिहरू उपस्थित थिए ।

बैठकमा काठमाडौंको फोहोर व्यवस्थापन गर्ने सम्बन्धमा १० दिनपछि पुनः अर्को बैठक राख्ने निर्णय भएको छ । यसअघि काठमाडौंका मेयरले संघीय सरकारले आफूलाई असहयोग गरेको आरोप लगाउँदै सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने सार्वजनिक चेतावनी दिएका थिए । उनले सिंहदरबारका नेताहरुलाई फोहोरभन्दा पहिले डम्पिङसाइटमा पुर्याएर व्यवस्थापन गर्नुपर्ने चर्को धारणा सामाजिक सञ्जालमा लेखेका थिए ।

टिप्पणीहरू