राजधानीका पत्रकारको पत्र अध्यक्षको टेबलमा- अब वारपार
आठ महिनादेखि तलब नपाएका राजधानी दैनिकमा कार्यरत पत्रकार तथा कर्मचारीहरु पुन: आन्दोलनमा ओर्लने भएका छन् । यसअघि पटक-पटक भएका आन्दोलन र छलफलले कुनै निष्कर्ष नदिएपछि तलब नपाएका पीडित पत्रकारहरुले थप संघर्षको कार्यक्रम घोषणा गरेका छन् ।
पत्रकार महासंघ, राजधानी प्रतिष्ठान शाखा र अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना प्रकाशन मजदुर संघ,राजधानी ईकाई कमिटीको संयुक्त अगुवाइमा 'भोका पत्रकार' हरुले जेठ ३ गतेदेखि आन्दोलनको तयारी गरिसकेका छन् । उनीहरुले आज राजधानी न्यूज पब्लिकेशन प्रालिका अध्यक्षलाई पत्र पठाउँदै आन्दोलनका कार्यक्रमबारे जानकारीसमेत गराएका छन् ।
पारिश्रमिकलगायत सेवासुविधाको विषयमा पटक-पटक ध्यानाकर्षण गराउँदा पनि कुनै जवाफ नआएपछि बाध्य भएर आन्दोलनमा जानु परेको पत्रमा उल्लेख छ । यसअघि पनि पत्रकार महासंघले पत्रकारलाई तलब दिन माग गर्दै गत वैशााख २७ गते राजधानीका प्रशासन प्रमुख र सिईयोलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । तर, त्यसप्रति प्रतिक्रिया नआएपछि हिजो २४ घण्टे अल्टिमेटमसहितको पत्र लेखिएको हो ।
हालसम्म पनिकुनै जवाफ नपाएको पीडित पत्रकारका पक्षमा संघर्ष गर्दै आएको महासंघले जनाएको छ । हिजो पठाईएको पत्रमा आफूहरुको पटक- पटकको अनुरोध वेवास्ता गरिएकाले अब निर्णायक आन्दोलन हुने र त्यसबाट पर्ने क्षतिको जिम्मेवार स्वयमं संस्था हुनुपर्ने बताइएको छ ।
आन्दोलनका कार्यक्रमअन्तर्गत जेठ ३ गते बिहान १० बजेदेखि ११ बजेसम्म राजधानी दैनिकको गेटमा र जेठ ४ गते बिहान ९ बजेदेखि ११ बजेसम्म अध्यक्षको निवास कुपण्डोलमा धर्ना दिने जनाइएको छ । जेठ ५ गते सञ्चालकहरुको निवास घर्ने कार्यक्रम तय भएको छ ।
विगत २२ वर्षदेखि प्रकाशन हुँदै आएको राजधानी दैनिकका सञ्चालकहरु बीच आफैँमा 'मारामार' हुँदा गत कात्तिकदेखि कर्मचारीले तलब पाएका छैनन् ।

टिप्पणीहरू