आरजूले आफैँ प्रतिरक्षा गरिरहनुभएको छ, मञ्जुको मतलब छैन  : काँग्रेस प्रवक्ता

आरजूले आफैँ प्रतिरक्षा गरिरहनुभएको छ, मञ्जुको मतलब छैन  : काँग्रेस प्रवक्ता

नेपाली काँग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने पक्षमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ । पार्टीका प्रभावशाली नेताहरुको नाम यस प्रकरणमा जोडिएको बारे बोल्दै उहाँले काँग्रेसले गम्भीरतापूर्वक लिएको जानकारी दिनुभयो ।

आज आयोजित पत्रकार सम्मेलनमा डा. महतले पार्टीका केन्द्रीय सदस्य डा. आरजू राणा देउवासम्बन्धी अडियो झूठो प्रमाणित हुने अपेक्षा गरेको उल्लेख गर्नुभयो । 

यो प्रकरणमा मिडिया ट्रायल भएको उल्लेख गर्दै ‘दोषीलाई कारबाही होस्, निर्दोष नफसुन’ भन्नेमा कांग्रेस दृढ रहेको उहाँको भनाइ छ । ‘आरजु राणाको नाममा आएको अडियो झूठो भएको हामीलाई विश्वास छ,’ महतले भन्नुभयो, ‘उहाँ (राणा) स्वयंले पनि सो अडियो झूठो भएको भन्दै प्रहरीमा उजुरी दिनुभएको छ, त्यसको सत्यतथ्य अझै बाहिर आएको छैन, यो आउनुपर्छ भनेर हिजो पनि उहाँले (संसदमा) बोल्नुभएको छ ।’

यो प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका पार्टीका नेता बालकृष्ण खाँणमाथि निष्पक्ष छानबिन हुने र यथार्थ बाहिर आउने डा. महतको विश्वास छ । खाँणले आफू निर्दोष सावित हुने जानकारी गराएको उहाँले सुनाउनुभयो । 

‘बालकृष्ण खाँणजीमाथि पनि अनुसन्धान जारी छ, छानबिनपछि केही न केही त अवश्य निष्कर्ष आउनेछ, हामी निष्कर्षको पखाईमा छौं’, महतको प्रतिक्रिया छ ।

त्यस्तै, यस घटनामा जोडिएकी र हाल फरार भनिएकी खाँणकी पत्नी मञ्जुबारे भने पार्टीले ‘फलो’ नगरेको महतको भनाइ छ ।

टिप्पणीहरू