गुम्बा निर्माणमा विदेशमा रहेका नेपालीको सहयोग

गुम्बा निर्माणमा विदेशमा रहेका नेपालीको सहयोग

काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका वडा नम्बर १ मा रहेको 'ड्रुक ङिमा खास्योर छेडुप गाेन्पा' गुम्बा निर्माणमा आर्थिक सहयोग संकलन भएको छ । 

तामाङ समाज युएई, काभ्रे सेवा समाज युएई, त्रिशूली समाज युएई र आदिवासी जनजाति युवा महासंघ शाखा युएईले गुम्बा निर्माणका लागि एक लाख एक हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको जनाइएको छ । 

काठमाडौंको चावहिलमा आयोजित हालै एक कार्यक्रममा ती संस्थाले उपलब्ध गराएको सहयोग हस्तान्तरण गरिएको हो । बुद्ध जयन्तीको अवसरमा संकलन गरिएको रकम गुम्बा निर्माणका निम्ति सहयोग गरिएको काभ्रे सेवा समाजका पूर्व महासचिव उत्तमराज विकले जानकारी दिए । 

कार्यक्रममा तामाङ समाजका संस्थापक, कोषाध्यक्ष तथा संरक्षक राम मोक्तान, कार्यकारी अध्यक्ष भीम दोङ, काभ्रे सेवा समाजका पूर्व महासचिव विकलगायतले संयुक्त रुपमा गोन्पाका अध्यक्ष सानु कान्छा लामा र निर्माण समितिका अध्यक्ष कर्म ग्याम्जो लामालाई रकम हस्तान्तरण गरेका थिए । 

त्यस्तै, तामाङ समाजका कार्यकारी अध्यक्ष दोङको सभापतित्व र संरक्षक मोक्तानको प्रमुख आतिथ्यामा सम्पन्न भएको सो कार्यक्रममा पालिकाको वडानं.१ का वडाध्यक्ष सुशील लामा, नेपाल तामाङ कलाकार संघका उपाध्यक्ष विशाल काल्तानलगायतको उपस्थिति  थियो ।

टिप्पणीहरू