गलत समाचार ढाकछोप गर्न मेयरद्वारा पत्रकारलाई नै नियुक्ति !
सिरहाको लहान नगरपालिकाका मेयर महेश चौधरीले आफूले गरेको गलत क्रियाकलापका समाचार ढाकछोप गर्न पत्रकारहरूलाई राजनीतिक नियुक्ति दिएको आरोप लागेको छ ।
उपमेयर राम चलितर महतोले मेयर चौधरीमाथि नगरपालिकामा पत्रकारलाई नियुक्ति दिलाएको आरोप लगाएका छन् । हिजो प्रेस विज्ञप्ति जारी गर्दै महतोले आफूले गरेका गलत कार्यको समाचार बाहिर नआओस् भन्दै मेयरले गैरकानुनी रूपमा पत्रकार,पत्रकारका श्रीमती र केही नातेदारलाई करार नियुक्ति गरेकोमा विरोध जनाएका छन् ।
मेयरले गैरकानुनी रूपमा कानुनी सल्लाहकारसमेत नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै मनोमानी ढङ्गले नगरपालिकाको स्वामित्वमा रहेका सार्वजानिक पोखरीहरू पनि सस्तो दरमा ठेक्कामा लगाएको, नगरकार्यपालिका र नगरसभाले गरेका निर्णयहरू आफूलाई जानकारी नगराएको, प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारी र शिक्षकहरूलाई आफूविरूद्व परिचालन गरेको पनि उनको आरोप छ ।
गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस,माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले संयुक्त घोषणापत्रमा चुनाव लडेका थिए । चार दलीय गठबन्धनबाट एमालेको लालकिल्ला तोड्दै काँग्रेसका चौधरी मेयरमा र जसपाका महतो उपमेयरमा निर्वाचित भएका थिए । क्षेत्रफलको हिसाबले लहान मुलुककै सबैभन्दा ठूलो नगरपालिका हो । २४ वडा रहेको लहान मधेश आन्दोलनको उर्वरभूमि पनि हो ।
टिप्पणीहरू