दुर्घटनाग्रस्त क्षेत्रमा ट्राफिक सप्ताह
मधेश प्रदेशमै अत्याधिक दुर्घटना हुने सिरहाको लहानमा ‘ट्राफिक सप्ताह २०८०’ मनाउन थालिएको छ । दुर्घटनाग्रस्त क्षेत्र घोषणा गरिएको लहानमा यसपटकदेखि उत्सवका रुपमा ट्राफिक सप्ताह मनाउन लागिएको हो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले अस्ति उद्घाटन गरेर ट्राफिक सप्ताहको शुरुवात गरे । सो अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरुले नारासहित र्याली निकालेका थिए ।
लहान र मिर्चैयामा प्रभातफेरी निकालेर विभिन्न चेतनामूलक पोष्टर वितरण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी निरीक्षक मीनबहादुर बस्नेतले बताए । ट्राफिक प्रहरी आफैंले आयोजना गरेको कार्यक्रमको दोस्रो दिन हिजो सिरहाका विभिन्न विद्यालयमा ट्राफिक चेतनासम्बन्धी कक्षा सञ्चालन गरिएको थियो ।
सहायक प्रहरी वरिष्ठ नायव निरीक्षक विदुरमणि भट्टराईका अनुसार ट्राफिक नियमसम्बन्धी जानकारीका लागि माइकिङ र पोस्टर टाँसलगायतका कार्य गरिँदै आइएको छ ।
त्यस्तै, आज पैदलयात्रीहरुलाई बाटो काट्न सिकाउने, सार्वजनिक सवारी साधनको सीट क्षमता र आरक्षण सीटको अनुगमन तथा पर्चा प्याम्लेट वितरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
‘सात दिनसम्म निरन्तर ट्राफिक सप्ताहअन्तर्गत सिरहा जिल्लाभरि विभिन्न कार्यक्रम गर्दैछौं । सबैलाई यस जनचेतनामूलक कार्यक्रममा सहभागी हुन अनुरोध छ’, उनले भने ।
टिप्पणीहरू