टोपबहादुरहरुलाई अझै हिरासतमा राखिने

टोपबहादुरहरुलाई अझै हिरासतमा राखिने

पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी थप तीन दिन हिरासतमै रहने भएका छन् । सर्वसाधारण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका उनलाई थप तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको हो ।

काठमाडौं जिल्ला अदालतले प्रहरीलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई प्रहरी वृत्त, सोह्रखुट्टे ल्याइएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर आजसम्ममा रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो । 

तर, अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले फेरि म्याद थप गर्न माग गरेको थियो । यता, अन्य आरोपीलाई समेत तीन दिनको म्याद थप गरिएको छ । 

नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गरेको आरोपमा गत चैत १२ गते मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । त्यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

उनीहरुको बयानको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले वैशाख १९ गते पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट गृहका पूर्वसचिव एवम् उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए ।

गत वैशाख २७ गते नेपाली काँग्रेसका प्रभावशाली नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले समातेको थियो । उनको निजी सचिव नरेन्द्र केसी पनि प्रहरी हिरासतमा छन् ।

टिप्पणीहरू