कलियुगमा धृतराष्ट्रहरूको कोलाहल

कलियुगमा धृतराष्ट्रहरूको कोलाहल

नक्कली भुटानी शरणार्थी काण्डमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा माननीय आरजु राणा र पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी माननीय मञ्जु खाँणको नाम निकै चर्चामा छ ।

पत्रपत्रिका र सामाजिक सञ्जालमा उहाँहरूबारे अनेकन व्यंग्य छरपष्ट भेटिन्छन् । तर, यत्तिका दिनसम्म प्रहरीमा यी दुवैविरुद्ध कसैले उजुरी दिएको छैन । यी दुवैलाई अनुसन्धानको दायराभित्र ल्याएको पाइन्न पनि । प्रहरीले पक्राउ पुर्जी नै जारी गरेको अवस्थासमेत होइन । तर, मिडियामा भने दुवैलाई नक्कली शरणार्थी काण्डमा मुछ्ने क्रम जारी नै छ । यसबीच, आरजु देउवालाई दिइएको अन्तर्वार्तामा छोराकै कसम खान लगाउने पत्रकारविरुद्ध समेत सामाजिक सञ्जाल रंगिएकाको छ । 

पदको आडमा पतिहरूलाई शिखण्डी बनाएर नेपालको ब्युरोक्रेसी र गृह प्रशासनलाई नचाएको आरोप सार्वजनिक जिम्मेवारीमा रहेका यी दुवै महिलामाथि लाग्दै आएको छ । सशस्त्र प्रहरीको एकल दरबन्दी वृद्धिमा भएको चलखेललाई नियाल्दा धेरै कुरा प्रष्ट हुन्छ । राज्यलाई अनावश्यक थप व्ययभार हुन्छ भन्दै एउटा सरकार हुँदा कटाएको दरबन्दी अर्को सरकारले कायम गर्नुको पछाडि उहाँहरूको हात थियो भनिन्छ । कांग्रेस यतिबेला अनिर्णयको बन्दी बनेको अवस्था छ ।

एकताका पूर्व प्रम शेरबहादुर देउवाको महत्वपूर्ण सहयोगी मानिने खाँणले हिरासतमा रहेका बेला बयान दिएको खण्डमा आफूहरु पनि अनुसन्धानको दायरामा आउने भएकै कारण त खाँणलाई अहिलेसम्म निलम्वन नगरिएको हैन ? टोपबहादुरको हकमा झैँ शरणार्थी प्रकरणमा पुर्जी जारी भएपछि उनलाई पनि नेपाली कांग्रेसले पद र जिम्मेवारीबाट मुक्त गर्नुपर्ने हो । तर, नेका अहिलेसम्म त्यतातिर अग्रसर भएको देखिन्न ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सकेसम्म आफ्ना केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई बचाउन खोजेकै हो, नसकेपछि बल्ल सचिवालय बैठकको भोलिपल्ट निलम्बनको वक्तव्य निकाल्न लगाउनुभयो । भुटानी शरणार्थीका नाममा छुटपुट भन्दै अमेरिकालगायत युरोपियन देशमा पठाउने कार्यदलको गठन अध्यक्ष ओलीकै पालामा भएको थियो । नक्कली भुटानी शरणार्थी बनाउने खेलबारे जनआस्थाले दुई वर्षअघि नै प्रश्न उठाएको हो । त्यसबेला सत्ताधारीहरू तैँ चुप मै चुप भइदिँदा शरणार्थी प्रकरण त्यत्तिकै सेलायो । 

अहिलेको प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्नो प्रभाव देखाउन सकेन । नक्कली शरणार्थी प्रकरणमा नेपाली कांग्रेस र माओवादीसँगै ऊ पनि बदनाम भएको देखियो । यसले संघीय र दलीय व्यवस्था तथा प्रक्रियामाथि नै प्रहार हुने खतरा छ । यसप्रति ठूला दलले आत्मसमीक्षा गर्न नचाहेको प्रष्टै छ । झिनामसिना कुरा खोजेर जनताको विभाजित मतबाट फाइदा लिन खोज्नेहरू थुप्रै छन् । 

यतिखेर चिया पसलका भेट र भोजभतेरमा नक्कली शरणार्थी प्रकरणकै चर्चा व्यापक छ । र, सबैले प्रश्न तेस्र्याउँछन् अब के हुन्छ ? देश टाट पल्टिन लागेको छ, महँगी बढेको छ, कर्मचारीले तलब नपाउने स्थिति छ । तर, यसबारे कुनै चर्चा चलेको छैन । आरजु र मञ्जु खाँण पक्राउ पर्छन् कि पर्दैनन्, खाँणले के बयान दिन्छन् ? टोपबहादुरले गल्ती नगरेका भए किन लुक्थे ? अमेरिकनलाई नेपालीले कसरी छक्याए ? भन्नेमै नेपालीको दिन बित्नेछ । रामले समेत इज्जतको प्रश्न उठ्दा रावणको कैदबाट छुटाएर ल्याइएकी सीतासँग अग्निपरीक्षा लिएका थिए तर कलियुगमा भने धृतराष्ट्रहरूकै हालिमुहाली छ ।


 

टिप्पणीहरू