सुरक्षामा खटिने प्रहरीका हाकिम हिमालको चुचुरोमा

सुरक्षामा खटिने प्रहरीका हाकिम हिमालको चुचुरोमा

नेपाल प्रहरीका वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । 

नेपालले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सदस्यता प्राप्त गरेको खुशियाली तथा इन्टरपोलको शताब्दी वर्ष मनाउने कार्यक्रमअन्तर्गत संगठनको प्रतिनिधित्व गर्दै नेपाली सगरमाथा चढेका हुन् । अस्ति बिहान सवा १० बजे सगरमाथाको चुचुरोमा पुगेका उनले नेपालको राष्ट्रिय झण्डासहित प्रहरी र इन्टरपोलको झण्डा पनि फहराएका थिए । 

आईजीपी बसन्त बहादुर कुँवरबाट चैत ३० गते आवश्यक निर्देशन तथा शुभकामनासहित वरिष्ठ नायव निरीक्षक नेपालीसहितको आरोहण दल वैशाख २ गते काठमाडौंबाट प्रस्थान गरेको थियो ।

पहिलो पटक २०३१ सालमा नेपाल प्रहरीको नौ सदस्यीय टोलीले ६,९२० मीटर उचाईको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । त्यसपछि २०३३ असोजमा प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौमा प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६,११९ मिटर उचाईको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेका थिए ।

प्रहरीले विगतमा सगरमाथाको सरसफाई अभियान तथा विभिन्न हिमालहरू आरोहण गरेको सन्दर्भमा यस्ता प्रेरणादायी एवम् साहसिक कार्यले भविष्यमा निरन्तरता पाउने प्रहरीले विश्वास लिएको छ ।
 

टिप्पणीहरू