भ्रष्टाचार हटाउन माथिलो सदनका माननीयको चार उपाय

भ्रष्टाचार हटाउन माथिलो सदनका माननीयको चार उपाय

राष्ट्रियसभाका सदस्य जितेन्द्र देवले भ्रष्टाचार नियन्त्रणका लागि उपाय सुझाएका छन् । आज बसेको राष्ट्रियसभा बैठकमा उनले भ्रष्टाचार निर्मूलको निम्ति चारवटा उपाय संसदमा सुनाएका हुन् । 

जसअनुसार सबैभन्दा पहिले भ्रष्टाचारको ‘नेक्सस्’ तोड्नुपर्नेमा माननीय जितेन्द्रको जोड छ । राजनीतिज्ञ, उच्च कर्मचारी र विचौलियाबीचको नेक्सस् तोड्नसके मात्रै भ्रष्टाचार निवारणको प्रयासले सार्थकता पाउने उनको विश्वास छ । यसका लागि अनुसन्धान निकायले उनीहरुमाथि निरन्तर निगरानी राख्दै अनुसन्धान गर्नुपर्नेमा जितेन्द्रले जोड दिए । 

त्यस्तै, लामो समय र बारम्बार एउटै व्यक्तिलाई शक्ति केन्द्रमा रहने अवस्थाको अन्त्य गर्न सक्दा पनि धेरै हदसम्म भ्रष्टाचार नियन्त्रण हुने सांसद जितेन्द्रको दोस्रो सुझाव छ । यसले भ्रष्टाचार नियन्त्रणमा बिचौलियाको जालो च्यात्न सकिने उनले बताए । 

तेस्रो उपायमा प्रहरी तथा अपराध अनुसन्धान इकाइलाई दलीय प्रभावमुक्त बनाउनुपर्ने जितेन्द्रको भनाइ छ । एसियामै अनुन्धानमा अब्बल सावित भएको प्रहरी र अन्य अपराध अनुसन्धान इकाइहरु दलीय प्रभावमा नपरे भ्रष्टाचार नियन्त्रणमा सफलता मिल्ने उनले दाबी गरे । 

भ्रष्टाचार नियन्त्रणका लागि अन्तिम तथा चौथो उयायमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संरचना र नियुक्ति प्रक्रिया बदल्नुपर्नेमा जोड दिएका छन् ।
 

टिप्पणीहरू