मीटरब्याजीविरुद्ध उजुरी दिने समय थप गरिदिन माग

मीटरब्याजीविरुद्ध उजुरी दिने समय थप गरिदिन माग

मीटरब्याज विरुद्धको संघर्ष समितिले मीटरब्याजीविरुद्ध उजुरी दिने समय थप गरिदिन माग गरेको छ । समितिले मीटरब्याजसम्बन्धी जाँचबुझ आयोगमा आज म्याद थपका लागि निवेदन दर्ता गराएको छ ।

पीडितहरुको समस्या समाधान गर्न गठित अनुचित लेनदेन (मीटरब्याज) सम्बन्धी जाँचबुझ आयोग, २०७९ को केन्द्रीय कार्यालय, जनकपुरमा निवेदन दर्ता गर्दै समितिले सबै पीडितले उजुरी दिइनसकेको जनाएको छ । 

आयोगले गत वैशाख १७ देखि ३१ गतेसम्म १५ दिनभित्र उजुरी दिइसक्नुपर्ने म्याद दिएको थियो । तर, विभिन्न कारणले तोकिएको समयमा पीडितहरु उजुरी दिन असमर्थ भएपछि थप एक हप्ताको समय मागिएको समिति अध्यक्ष मनोजकुमार पासवानले बताए । 

‘अनुचित लेनदेनसम्बन्धी समस्या समाधान आयोगद्वारा मीटरब्याज समस्याको तथ्याङ्क संकलनका लागि गत वैशाख १७, २०७९ मा १५ दिने म्यादसहितको निवेदन खुल्ला गरिएको साथै अरु एक हप्ताको थप म्यादमा समेत विभिन्न कारणहरु सबै पीडितहरु निवेदन दर्ता गर्न असमर्थ रहेको अवस्थामा अरु एक हप्ता म्याद थप गरी सबै पीडितहरुलाई न्याय प्राप्त गर्ने अवसर प्रदान गरियोस्’, निवेदनमा उल्लेख छ । 

आयोगले गत वैशाख १७ गते सूचना जारी गर्दै पीडितसँग भएको प्रमाणसहित उजुरी दिनुपर्ने जानकारी गराएको थियो । यसका लागि प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मीटरब्याज पीडित सहायता कक्षको स्थापनासमेत गरिएको बताइन्छ ।

टिप्पणीहरू