२ हजारका नोट अब नचल्ने,साँट्न भारतका १९ ठाउँ

२ हजारका नोट अब नचल्ने,साँट्न भारतका १९ ठाउँ

भारतले आजदेखि २ हजार दरका नोट बजारबाट क्रमशः फिर्ता लिने र अक्टोबर १ देखि उक्त नोट चलनचल्तीमा नआउने जनाएको छ । त्यसपछि २ हजार दरका नोट सात वर्षअघिका एक हजार र पाँच सय दरका नोटझैँ खोस्टोमा परिणत हुनेछ । 

बैंक खाता भएका ग्राहकले बैंकमा दैनिक तोकिएको परिमाणमा रकम जम्मा गर्नसक्ने र नभएकाले दिनको १० वटा दुई हजार दरका नोट सटही गर्न सक्ने सुविधा दिइएको छ । त्यसको निम्ति भारतमा १९ स्थान तोकिएको छ । 

रिजर्भ बैंकका ३१ मध्ये १९ क्षेत्रीय कार्यालयको मुद्रा व्यवस्थापन विभागमा उक्त सुविधा दिइएको उल्लेख छ । पछिल्लो पटक उक्त नोट सन् २०१८ मा छापिएकाले अब नोटको आयु पनि मोटामोटी सकिएको बैंकले बताएको छ ।  

यता भारत सरकारका उच्च अधिकारीहरुले भने सात वर्षअघि झैँ पछिल्ला दिनमा पनि अवैध कारोबार गर्नेले २ हजार दरको नोट जम्मा पारेकाले उक्त निर्णय गर्नुपरेको बताएका छन् । ‘यो पनि पहिलेको एक हजार र पाँच सय दरका नोटको नोटबन्दी झैँ हो । अब केही समय पाँच सय दर र सोभन्दा मुनिका नोट मात्र प्रयोगमा आउनेछन्,’ ती अधिकारीले भने । 

भारतले अधिकांश कारोबार डिजिटलाइसेन गरेकाले पनि कागजी मुद्राको प्रयोगलाई घटाउने रणनीति अंगीकार गरेको अनुमान छ । अवैध कारोबारलाई निरुत्साहित गर्न भारतले पटक पटक ठूला दरका नोटको नोटबन्दी गर्दै आएको हो ।
 

टिप्पणीहरू