लहानका मेयर र उपमेयरबीचको लेनदेनको विवाद उत्कर्षमा

लहानका मेयर र उपमेयरबीचको लेनदेनको विवाद उत्कर्षमा

सिरहाको लहान नगरपालिकाका मेयर महेश चौधरी र उपमेयर रामचलितर महतोबीचको विवाद उत्कर्षमा पुगेको छ । दुवैजना एक अर्काविरूद्व सार्वजानिक रूपमा आरोप–प्रत्यारोपमा उत्रिएका छन् । मेयर चौधरीविरूद्व उपमेयर महतोले भ्रष्टाचार र अनियमितताको आरोप लगाका छन् । उपमेयर महतोमाथि मनोमानी ढङ्गले चल्न खोजेको, कर्मचारीविरूद्ध अराजक तवरले प्रस्तुत हुने गरेको, विकास निर्माणका भुक्तानी रोकेको आरोप मेयर पक्षको छ ।

मेयर र उपमेयरबीचको विवादको घानमा आफूहरु परेको नगरपालिकाका कर्मचारीहरु बताउँछन् । जबकी एक वर्षअघि चुनावको समयमा उनीहरु एकजुट थिए । निर्वाचित भएपछि एकाएक फरक कित्तामा उभिएका हुन् ।

यसअघि लहान नगरपालिकामा सँधै एमालेले विजयको झण्डा गाड्दै आएको थियो । एमालेका मुन्नी साहले प्रायः मेयर पद जितेका थिए । गत निर्वाचनमा एमालेका साहलाई हराउन रातारात नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीले एउटै मोर्चा बनाए । काँग्रेसले मेयर, जनता समाजवादीले उपमेयर भागबण्डा गरे र चारै दलले साझा चुनावी घोषणापत्र जारी गरेर चुनाव लडेका हुन् ।

अन्ततः चुनावी परिणाम सोही चारदलीय गठबन्धनको पक्षमा पुग्यो । काँग्रेसका उम्मेदवार चौधरीले मेयर पदमा चुनाव जिते भने जसपाबाट महतोले उपमेयर । २४ वडा रहेको नगरपालिकामा १५ वडाध्यक्ष हत्याउन सफल काँग्रेसले कार्यपालिकामा स्पष्ट बहुमत ल्याएको छ । स्पष्ट बहुमत पाएपछि मेयर चौधरी चुनावी गठबन्धनका घटकहरूलाई पेलेरै अघि बढ्न खोजेको आरोप छ । पछिल्ला घटनाक्रमले पनि उक्त भनाइलाई पुष्टि गरेको बताइन्छ । मेयर चौधरीले बहुमतकै आधारमा कार्यापालिकाबाट मनलाग्दो निर्णय गर्दैजाँदा उपमेयर महतो बिच्किएका हुन् ।

उपमेयर महतोले कर्मचारीहरूसँग अभद्र व्यवहार गरेर मेयरसँग असन्तुष्टि व्यक्त गर्दै आएको नगर कार्यपालिकाकी प्रमुख प्रशासकीय अधिकृत शुभद्रा गौतमले बताइन् । बाल संगठन कार्यालय रूपन्देहीबाट उपसचिवमा बढुवा भएर हालै लहान नगरपालिकामा सरूवा भएकी गौतमको कार्यकक्षमै पुगेर उपमेयर महतोले उनलाई  आफ्नो मान्छेसँग पाँच लाख घुस खाएको आरोप लगाउँदै अभद्र व्यवहार गरेको उनको भनाइ छ । उपमेयरले निर्वाचन जितेदेखि नै कर्मचारीहरूमाथि उक्त आरोप लगाएर अभद्र व्यवहार गर्दै आएकोे विरोधमा कर्मचारीहरूले उनलाई व्यवहार सुधार्नुपर्ने चेतावनीसहित ज्ञापनपत्र बुझाएका थिए । 

ज्ञापन प्रकरण छताछुल्ल भएपछि उपमेयर महतोले पनि प्रेस विज्ञप्तिबाट आफ्नो बचाउ गरेका थिए । उनले मेयर चौधरीमाथि भ्रष्टचारलगायत संगीन आरोप लगाउँदै जारी गरेको विज्ञप्तिमा मेयर चौधरीकै उक्साहटमा लागेर कर्मचारीले ज्ञापनपत्र बुझाएको दाबी छ । कर्मचारीहरुको ज्ञापनपत्रमा प्रमुख प्रशासकीय अधिकृत गौतमसहित नगरपालिकाका सबैजसो शाखा प्रमुखले हस्ताक्षर गरेका छन् ।

उपमेयरको ‘यौन ह्यारेसमेण्ट’ काण्ड

मेयरको विरोध गरेर सँधै विवादमा आइरहने उपमेयर महतोलाई केही समयअघि एक महिलालाई रोजगारको प्रलोभन देखाएर आफ्नै कार्यकक्षमा यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो ।

पीडित महिलाले इलाका प्रहरी कार्यालय लहानमा उपमेयरको उक्त हर्कतविरूद्व लिखित जाहेरी दिएपछि पक्राउ पर्ने डरले महतो केहीदिन भारत गएको बताइन्छ । अवस्था सामान्य भएपछि आत्मसमर्पण गरेर उपचारका लागि भारत गएको बयान दिएका थिए । तर त्यस काण्डमा भएको कारबाही कहाँ पुग्यो कसैलाई थाहा छैन । स्रोतका अनुसार पीडित महिलालाई २० लाख रूपैयाँ क्षतिपूर्ति उपलब्ध गराएर उक्त मुद्दा मिलाइएको आरोप उनीमाथि मेयर पक्षले लगाएको छ । उक्त घटनामा पनि मेयरले आफूलाई फसाउन षड्यन्त्र गरेको उपमेयरले सार्वजनिक रूपमा बताएका थिए ।

‘हेर्नुस् मेयरको भ्रष्टाचार बढेको छ । बोर्डबाट गैरकानुनी निर्णयहरू गरिँदै आइएको छ । आफ्ना गल्तीहरू समाचार नबनोस् भनेर सात जना पत्रकारलाई नगरपालिकामा विभिन्न राजनीतिक नियुक्ति नै दिएका छन् मेयरले,’ उपमेयरले भने । तर मेयरर उपमेयर दुबैका नजिक मानिएकाहरु उनीहरुबीचको लडाईं नीतिगत सुधारका लागिभन्दा कमिसन बाँडफाँडमा कुरो नमिलेर भएको बताउँछन् ।

मेयर चौधरी पनि कम्तीका छैनन : काँग्रेस

आफूखुशी निर्णय गर्ने गरेको आरोप विपक्षीहरुले मात्रै होइन मेयरकै दल नेपाली काँग्रेसका नेताहरूले पनि लगाएका छन् । चुनावमा आफूले जिते कुनै पनि सुविधा नलिने प्रतिबद्वता जनाएका मेयरले नगरपालिकाको सवारी साधन चिया खान जाँदा समेत प्रयोग गर्दै आएको काँग्रेसीहरु बताउँछन् । उनले इन्धन पनि आफूखुशी वितरण गर्दै आएको आरोप छ ।

पार्टी निर्णय विपरीत चलेकोमा मेयर महतोमाथि पार्टीकै युवा नेता सन्तोष चौधरीले यसअघि नगरपालिकामै उनीमाथि कुटपिटको प्रयास गरेका थिए । अन्य स्थानीय नेताहरूले छुट्याएका कारण सन्तोषको हात मेयरको कठालोमा पुग्न नभ्याएको त्यस दिनका एक जना प्रत्यक्षदर्शीले बताए ।

अलपत्र चुनावी घोषणापत्र

मेयर र उपमेयरबीचको लडाईं उत्कर्षमा पुग्दा चुनावमा अघि सारिएको सामूहिक घोषणापत्र र प्रतिबद्वता ओझेलमा परेका छन् । शिक्षा, स्वास्थ्य, नगरको सौन्दर्यकरण, खानेपानी, कृषि, रोजगारलगायत विषयमा उनीहरूले जारी गरेको सामूहिक लिखित प्रतिबद्वता कागजमा सीमित हुन पुगेको छ ।

चार दलले चुनावको समयमा जनतासँग गरेका प्रतिबद्धता वर्ष दिन नाघिसक्दा पनि कागजमा सीमित हुँदा मतदाता निरास देखिन्छन् । नेपाली काँग्रेसकै एक नेता भन्छन्, ‘चुनावको बेलामा दलहरूको सामूहिक प्रतिबद्वतालाई हेरेर स्थानीयले भोट दिएर जिताए । अहिले विवाद छाडेर प्रतिबद्वताअनुसार काम गर्नुपर्छ । अन्यथा जनताको भरोसा टुट्ने छ । बेलैमा सचेत हुन जरूरी छ ।’


​​​​​​​

टिप्पणीहरू