केपीमाथि कमरेडहरुको कटाक्ष - बा,किन दु:ख गरिस्या ! बिरामी परिएला

केपीमाथि कमरेडहरुको कटाक्ष - बा,किन दु:ख गरिस्या ! बिरामी परिएला

नीति तथा कार्यक्रममाथि कठोर टिप्पणी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको सत्तापक्षीय नेता तथा सांसदहरुले कटाक्षपूर्ण प्रतिवाद गरेका छन् ।  

प्रमुख प्रतिपक्ष दलको नेतासमेत रहेका ओलीले आज संसदबाट नीति तथा कार्यक्रमको हुर्मत लिएपछि सत्तापक्षका नेताहरुले जवाफ फर्काएका हुन् । माओवादी केन्द्रका युवा नेता रामप्रसाद सापकोटा दीपशिखाले जनताका लागि ल्याएको नीति तथा कार्यक्रम ओलीलाई मन नपर्नु कुनै अनौठो नहुने बताए । 

सरकारले जनताको अपेक्षा सम्बोधन गर्न नीति तथा कार्यक्रम ल्याएकाले चिन्ता नगर्न पनि उनले ओलीलाई भनेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'कमरेड बा,सरकारले ल्याएको नीति- कार्यक्रम हजुरलाई मन पर्ला कि भनेर ल्याएको होइन, जनतालाई सम्बोधन गरेर ल्याएको हो ।'

ओली प्रधानमन्त्री भएका बेला चर्चामा रहेका केही काण्ड उल्लेख गर्दै सापकोटाले अहिले पनि त्यस्तै खोजेको तर नपाएपछि ओली आलोचनामा उत्रिएको भन्दै कटाक्ष गरे । 

उनी लेख्छन्, 'हजुरलाई मन पर्ने : ‘झापामा भ्यु टावर’,‘घरघरमा ग्याँस पाइप’,‘रेलको टिकट काट्नेको लाइन’, ‘पानीजहाज र कार्यालय’, ‘कामै नगरी बसीबसी खान पाइने व्यवस्था’, ‘भण्डारीको सवारी र भण्डारीको मेरो सरकार’, ‘बालुवाटारको ८ आना’, ‘यति र ओम्नीको ठेक्का’ ‘सत्तरी करोड’, ‘नक्कली भुटानी शराणार्थी र रायमाझी’हरु हुन् । ती हजुरले आफ्नै पालामा गरिस्यो । दुई घण्टा घोक्रो सुकाएर विमार शरिरलाई किन दुख दिइस्या !'

यसअघि पूर्वमन्त्री तथा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले पनि ओलीले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा नराखी राजनीतिक प्रतिशोध र कुण्ठा मात्रै पोखेको बताएका थिए । 

राष्ट्रपतिले जम्मा १ घण्टा ४४ मीनेटमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले १ घण्टा ५२ मीनेट खर्चिएका थिए । त्यसक्रममा उनले नीति कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न प्रधानमन्त्रीलाई सुझावसमेत दिएका थिए । 

झण्डै दुई घण्टाको अभिव्यक्तिमा अधिकांश समय सरकार र सत्तासीन पार्टीको विरोधमै खर्चिएका ओलीले नीति कार्यक्रमका एक-एक बुँदा केलाएर आफ्ना सुझावसहितको ठोस आलोचना नभई सनातनी प्रतिपक्षीय शैली अपनाएको देखिन्थ्यो ।  

बरु,प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमलगायतका सांसदले पाँच मीनटको छोटो समयमा मूर्तरुपमा आफ्ना सुझावसहित नीति कार्यक्रममाथि गरेको टिप्पणीको धेरैले प्रशंसा गरेका छन्।

टिप्पणीहरू