छोटो दूरीमा पनि भाडा घटाइयोस् : अनेरास्ववियु
नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले छोटो तथा मध्यम दूरीको भाडा तत्काल समायोजन गर्न माग गरेको छ ।
अनेरास्ववियुका कार्यवाहक अध्यक्ष हिरेन्द्र शाहीले पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि छोटो तथा मध्यम दूरीको भाडा समायोजन नभएकाले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् ।उनले आज जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि छोटो तथा मध्यम दूरीको भाडा समायोजन नभएकाले तत्काल भाडा समायोजन गर्न माग गर्दछौं ।’
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत सहुलियत दिने निर्णय मुलुकभर कडाइका साथ कार्यान्वयन गराउन पनि अनेरास्ववियुले उठाएको छ ।
काठमाडौँ उपत्यकालगायत मुलुकभरका सबै सहर तथा लामो दूरीमा चल्ने यातायातमा छुट पाउन विद्यार्थीले यातायात व्यवसायीसँग दिनहुँ झगडा गर्नुपर्ने भन्दै अनेरास्ववियुले विद्यार्थीको सहुलियतपूर्ण निर्णय कार्यान्वयन नभएकोमा खेट प्रकट गरेको हो ।
आफ्ना माग सम्बोधन नभए सरकारसँग भएको सहमति कार्यान्वयन गर्न र गराउन जस्तोसुकै आन्दोलन गर्न पनि बाध्य हुने उसको चेतावनी छ ।
टिप्पणीहरू