नक्कली शरणार्थी बनाउनेहरुले कसरी कुरा फेरे ?

नक्कली शरणार्थी बनाउनेहरुले कसरी कुरा फेरे ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा पुगेका १६ जनाविरुद्ध अदालतमा मुद्दा दायर गर्ने तयारी हुँदै  छ । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धान, छानबिन र बयानपछि गरिएको सिफारिस प्रतिवेदनलाई सरकारी वकिल कार्यालय, काठमाडौंमा अस्ति बुझाइएको छ । 

पूर्वउपप्रधानमन्त्री तथा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी,पूर्वगृहमन्त्री एवम् नेपाली काँग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायतसँग प्रहरीले बयान लिएको थियो ।  

तीमध्ये केहीले दिएको बयानको संक्षिप्त विवरण जनआस्थाले प्राप्त गरेको छ । आरोपित केशवप्रसाद दुलाल भन्छन् : जाहेरवालाहरू गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीलाई मैले चिनेको छैन ।  निजहरूलाई अमेरिका पठाई दिने भनी कुराकानीसमेत गरेको छैन ।  मैले कुनै उच्च अधिकारी र प्रधानमन्त्रीसँग कुरा गरेको पनि छैन ।

प्रहरीले सरकारी वकिलकाे कार्यालयमा पेश गरेकाे प्रतिवेदनकाे पृष्ठ १७ र १८ मा उल्लेखित बयानमा अधिकांश इन्कारी देखिन्छ । उनको भनाई उद्धृत गर्दै स्रोत बताउँछ, ‘मैले अमेरिका जान पाइन्छ भनी निजहरुलाई कुनै प्रस्ताव गरी विश्वास दिलाएको समेत छैन । प्रतिवादी सन्देश शर्माको ह्वाट्सएपबाट पठाएको भनिएको श्रम मन्त्रालय, गृह मन्त्रालय र नेपाल सरकारका विभिन्न निकायहरुबाट भुटानी शरणार्थीहरुको सम्बन्धमा भएको निर्णय र सोसँग सम्बन्धित समाचारको फोटो, कागजपत्रहरुको के–कुन प्रयोजनको लागि पठाएका हुन् मलाई जानकारी भएन ।’

सन्तोष शर्मा,विवेक थापा,प्रदिप अर्याल, सन्देशजंग ठकुरी,सन्जिव गौतम, सन्देश गौतम, दिपेन्द्रले दरखास्तमा उल्लेख गरेअनुसार आफूले  कोही कसैलाई ठगी नगरेको उनको भनाइ छ । ‘ जाहेरवाला गजेन्द्र बुढाथोकीको लामिछाने, दिपक केसी र धनबहादुर भण्डारी समेत ६१ जना व्यक्तिसँग मेरो चिनजान र सम्पर्क छैन । चिनजान नै नभएका अतिहरुलाई मैले काठमाडौंको सुन्धारामा भेट गर्ने भन्ने विषय हुनै सक्तैन । निजहरुले ममाथि लगाएको आरोप निराधार र झुठो हो ।  जाहेरी दरखास्तमा जाहेरवालाले नाम उल्लेख गरेका बिराज पाण्डे,डम्बर खत्री,यज्ञ ओली, समिर लामिछाने, गौतम सुजल के. सी., असिम ओली, चन्द्र बहादुर खड्का, पदमसिंह खत्री, महेन्द्र कुमारी, मानबहादुर खत्री, मनिस डि.सी., मुमकान्त पाण्डे, मनोज के.सी.समेत २० जनासँग मेरो कुनै चिनजान छैन,’ दुलालले उल्लेख गरेका छन् ।

भुटानी शरणार्थीको फारम भर्न लगाई बायोमेट्रिक गरी, फोटो खिची, ट्राभल डकुमेन्ट बनाउनुपर्छ भनेर आफुले नभनेको उनको जिकिर छ । उक्त कार्यको लागि एक लाखदेखि २० लाखसम्म रकम माग गरेको भन्ने सम्बन्धमा आफुलाई जानकारी नभएको उल्लेख गर्दै भने, ‘मैले जाहेरीमा दाबी गरेबमोजिम कुनै रकम लिएको छैन । निजहरुको ट्राभल डकुमेन्ट बनी सकेको छ भनेर मैले ह्वाट्सएपबाट नामावली कोही कसैलाई पठाएको छैन । मैले आशिष बुढाथोकी र मोहन राई भन्ने व्यक्तिहरुको खातामा रकम जम्मा गर्न लगाएको छैन । गजेन्द्र बुढाथोकी र शन्देश शर्माबीचको अडियोमा के कुराकानी भएको हो मलाई केही थाहा छैन ।’ 

उनले आरजु देउवालाई दुई करोड र बालकृष्ण खाँणमार्फत छ करोड रुपैयाँ मञ्जुलाई दिएको, हनुमान थानभित्रको घरमा बुझाएको भन्नेबारे पनि इन्कारी गरेका छन् । ‘सन्देश शर्माले भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन्छु भनी एक करोड लिएको हुँदा मलगायत मेरा आफन्त र साथीभाई समेत पिडीत भएका छौं । सन्देश शर्मासँग मिली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन्छु भनी कसैलाई ठगी गरेको छैन  । यो कार्यमा मेरो कुनै संलग्नता छैन । जाहेरवालाहरु रोशन खरेल तथा गोकुल भट्टराईले अशोक पोखरेलको प्रभु बैंकको खातामा २० लाख, सानु भण्डारीलाई चेक मार्फत २८ लाख र सागर राईको नाममा २२ लाख दिएको तथा जम्मा गरेको भन्ने सम्बन्धमा मलाई जानकारी भएन,’ दुलालको थप बयानमा भनिएको छ ।

आफ्नी श्रीमती दिपा हुमागाईंको नाममा जम्मा भएको रकम २० लाख व्यक्तिगत ऋण लिएको र उक्त ऋण उनकै बैंक खातामा फिर्ता गरी सकेको दुलालको बयान छ । यसबारे बैंक भौचर उपलब्ध गराउने र हालसम्मको बैक स्टेटमेण्ट झिकाई पछि पेश गर्ने प्रतिबद्धता समेत जनाएको बताइन्छ । उनले अगाडि भने, ‘जाहेरवाला रोशन खरेल मेरो गाउँको छिमेकी भाइ हुन्,मलाई तिर्नका लागि रकम आवश्यक भएको हुँदा निजसँग ऋण लिएको हुँ । सो ऋण मैले निजको बैंक खातामा जम्मा गरिसकेको छु । निजले फिर्ता गरि सकेको रकम किन दाबी गरेका हुन्,थाहा भएन । सन्देश शर्माले मसमेत मेरा आफन्त र साथीभाइहरुलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी एक करोड लिएका बखत उल्लेखित व्यक्तिहरुको नाम लिई म अमेरिका पठाइदिन्छु भनेका थिए । म सन्देश शर्माबाट ठगिएपछि पटक–पटक रकम फिर्ता माग्दा चार वर्ष बितिसक्यो । जाहेरवालाहरु गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मी समेतको जाहेरीले पक्राउ परी अनुसन्धानको क्रममा प्रारम्भिक सोधपुछको क्रममा तत्कालीन अवस्थामा सन्देश शर्माले भनेका कुराहरु सम्झेर पीडा पोख्ने क्रममा भावावेशमा आई उक्त कुरा सोधपुछको क्रममा राखेको हुँ । उक्त रकम मैले कोही कसैलाई दिएको छैन ।’
                                                     क्रमशः

टिप्पणीहरू