सात दिनको प्रयासमा चोर भेटियो, सुन गायब

सात दिनको प्रयासमा चोर भेटियो, सुन गायब

विराटनगरमा सुनचाँदी चोरीमा संलग्न तीनजना पक्राउ परेका छन् । मोरङ प्रहरीले चोरी गरेको ३५ केजी चाँदीका गरगहनासहित उनीहरुलाई हिजोराति समातेको हो ।

पक्राउ पर्नेहरूमा विराटनगर १२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक गौतम र २२ वर्षीय श्रीकान्त दास रहेको मोरङका एसपी दीपक पोखरेलले जानकारी दिए ।

सुन, भारतीय रुपैयाँ २५ सय, नेपाली रुपैयाँ एक हजार ७३० र दुई थान मोबाइल बरामद गरेपनि २० तोला सुन उनीहरूले यसअघि नै भारतीय बजारमा लगेर बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

लगातार ७ दिनको अनुसन्धान र निगरानीको माध्यमबाट उनीहरूलाई विराटनगर–१२ मा रहेको कोशी प्रोजेक्ट सडक खण्डबाट पक्राउ गरेको पोखरेलले बताए ।

पक्राउ परेका तीनै जना चोरी कार्यमा यसअघि पनि सजाय भुक्तान गरी जेलबाट छुटेका थिए ।

टिप्पणीहरू