जेठ १५ गते रेशम चौधरीको १५ वर्ष कैद मिनाहा
जन्म कैद भुक्तान गरिरहेका रेशम चौधरीको बाँकी १५ वर्षको कैद माफीको तयारी गरिएको छ । आगामी सोमबार गणतन्त्र दिवसको दिन राष्ट्रपतिबाट सरकारको सिफारिसमा माफी दिने बताइएको छ ।
आठ वर्षअघि कैलालीको टीकापुर नरसंहारमा तीन वटै तहका अदालतबाट दोषी ठहर भएका चौधरीको बाँकी कैद माफीको तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता गठबन्धनका शीर्ष नेताहरु अघि बढेपछि सरकारले प्रक्रिया अघि बढाएको हो ।
हिजो साँझ प्रधानमन्त्रीसहित केही मन्त्रीहरु शीतल निवास गएको सन्दर्भ चौधरीको कैद माफी रहेको बताइएको छ । सम्भवतः आगामी क्याबिनेट बैठकमा उक्त निर्णयको लागि सिफारिस हुनेछ ।
उनी २०७२ भदौमा टीकापुरमा ७ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको घटनामा दोषी देखिएका हुन् । यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसला सर्वोच्च अदालतले हालै सदर गरेपछि चौधरी छुट्ने सम्भावना आममाफी मात्रै रहेको हो । यसअघि तत्कालीन माओवादी तथा एमाले नेता बालकृष्ण ढुंगेललाई दिइएको माफीको आधारमा चौधरीलाई पनि जेलबाट बाहिर निकाल्न खोजिएको हो ।
टिप्पणीहरू