पूर्वतिरबट यसरी बटुलियो नक्कली शरणार्थीको नाम
– महेन्द्र क्षेत्री
पहिलो स्थानीय निर्वाचनताका मोरङको एउटा पालिकामा अकल्पनीय ढंगबाट कांग्रेसले अध्यक्ष जित्यो । आफ्नो गढमा कांग्रेसले जित्नुको रहस्य स्वयं एमालेले पनि तत्काल भेउ पाउन सकेन । सो कुरालाई अन्तरघात भनेर अथ्र्याइयो तर वास्तविकता भने अलि बेग्लै थियो । पालिकाभर दुई दर्जन बढी चर्चका पास्टरहरूलाई हात लिएका कारण क्रिश्चियन धर्म मान्नेहरूको भोट नै सो चुनावको निर्णायक मत बन्यो ।
हप्तामा एक दिन जमघट हुने प्रत्येक चर्चमा पास्टरले प्रभुको नाम लिँदै यसपालि फलानालाई भोट हाल्नुपर्छ है भनेर कारणसमेत बताएपछि ती भोट अन्यत्र गएनन् र एमाले गढमा कांग्रेस उम्मेदवारले जिते । चर्चमा आवश्यक निर्माण सामग्रीदेखि चुनावी खर्चको बलले नै नतिजा बदलिएको थियो । तर पोहोरको चुनावमा कांग्रेसले त्यो ट्रिकतिर त्यति ध्यान दिएन र सोही उपाय अपनाएर एमालेले पालिका अध्यक्ष फर्कायो ।
सरकार र युएनएचसिआरले कतिपयलाई प्रमाणीकरणमा छुटाएको मौकामा चौका हान्दै भुटानी शरणार्थी बनाएर अमेरिका र क्यानाडा पठाइदिन्छौँ भनी असुलेको तथ्य अहिले खुब चर्चामा छ । नेताहरूले तस्कर र माफियाहरूको इशारामा कस्ता–कस्तासम्म हर्कत गर्दा रहेछन् भन्ने गतिलो उदाहरण छताछुल्ल भएको दुई तीन वर्ष बितिसके पनि सरकारको नजर बल्ल परेको छ । त्यो ठगीमा पनि धेरै क्रिश्चियन पास्टर प्रयोग भएको खुलेको छ ।
जनआस्थाको २०७७ माघ २८ गतेको अंकमा ‘शरणार्थीका नाममा फेरि षडयन्त्र’ शीर्षकअन्तर्गत अहिले पक्राउ परेका र फरार अर्थात् आरोपित सबैको नामसमेत किटान गरी समाचार आएकै हो । सो काण्डबारे त्यसबेला सरकार पूरै अनभिज्ञ पनि थिएन किनभने त्यसअघि नै एक दुइटा छानबिन समिति बनाइएका थिए । केही बिचौलिया र तस्कर त्यतिबेलै गुमनाम पनि भइसकेका थिए ।
नक्कली शरणार्थी बनाउन मेलोमेसो मिलाउने नाइके केशव दुलाल र साने भण्डारी हुन् । साथमा गृह मन्त्रालयका अधिकांश उच्च अधिकारीसँग हिमचिम र उठबस गर्ने मन्त्रीको सचिवालयसम्म पहुँच भएका राजेन्द्र कार्की र सिंहराज केरुङ तथा झापास्थित शरणार्थी समन्वय इकाइ (आरसियु) का तत्कालीन संयोजक, शाखा अधिकृत यज्ञ निरौला र राजमान गुरुङ पनि थिए । झापाभरि यिनीहरूमार्फत ठाउँ–ठाउँमा एजेण्ट बनाएर पैसा असुल्न लगाइएको थियो । पछि शरणार्थी बनाएर अमेरिका लाने हैन, पैसा मात्रै खाने चाल पाएपछि पीडितहरूले सिडिओ कार्यालय गुहारे ।
गिरोहका नाइके कांग्रेस नेत्री सुजाता कोइरालाका पूर्वपिए तथा नेविसंघका पूर्वकेन्द्रीय सदस्य केशव दुलालले यसै क्रममा आफ्नै गाउँले मोरङ पथरीको शरणार्थी राखिएकै वडाका तत्कालीन वडाध्यक्ष सागर थुलुङलाई हात लिए । उनी भएपछि वडाबाट गर्नुपर्ने जुनसुकै सिफारिसको टेन्सन नै भएन । कुलुङले मोरङको बेलबारीका विक्रम बान्तवा र कानेपोखरीका धिरेन राईलाई सम्पर्क गरे । बेलबारीकै एक वडाध्यक्षमार्फत पनि थुप्रैसँग पैसा उठाउन लगाए तर ती वडाध्यक्षले धेरैको पैसा फिर्ता गरिदिए । उता, सानेले बेलबारी ७ का विक्रम चौधरी भनेर चिनिने गोविन्द चौधरीलाई एजेण्ट बनाए ।
विस्तारै मोरङ सुन्दरहरैंचाका निर्मल श्रेष्ठ, बेलबारी ६ का कांग्रेस महाधिवेशन प्रतिनिधि डम्बर राई पनि एजेण्ट भए । डम्बरमार्फत हर्क माझी, इन्द्र राईलगायत ५ जनालाई सानेसँग चिनजान गराइयो र २०/२५ लाख उठाइयो । त्यसअघि साने भण्डारीसँग सागर, विक्रम र धिरेनको चिनजान पनि थिएन । उनीहरूमार्फत असुलिएको पैसा भने चिनजान भएपछि तीन जनाबाट साने भण्डारीले लिए । मोरङका कांग्रेसनिकट केही युवा नेता तथा जनप्रतिनिधिलाई कमिसनको लोभ देखाई युवाबाट पैसा उठाउन लगाइएको थियो । पैसा उठाउनेमध्ये सागर र गोविन्द पक्राउ परिसकेका छन् भने झण्डै तीन दर्जन युवाबाट पैसा उठाएका कानेपोखरीका धीरेन राई युकेमा छन् । गिरोहले मोरङका पथरी, कानेपोखरी, बेलबारी र आसपास दुई सयभन्दा बढीलाई ठगेको अनुमान गरिए पनि यकिन तथ्यांक छैन ।
नक्कली शरणार्थीको धन्दा चलुञ्जेल हरेक दिनजसो गृहपरिसरमै भेटिने कार्की र गुरुङ दुई तीन वर्षदेखि नै गुमनाम थिए । गृह मन्त्रालय र संयुक्त राष्ट्रसंघीय उच्चायुक्त कार्यालय (युएनएचसिआर) र आइओएमसँग पनि कुनै साइनो नभएका यिनले नयाँ व्यक्तिलाई भुटानी शरणार्थीको रूपमा प्रमाणीकरण गराउने र अमेरिका पठाइदिने भन्दै पैसा लिएका थिए । पाँचदेखि बाह्र– पन्ध्र लाखसम्म उठाएको गिरोह भुटानी शरणायीलाई हेर्ने राष्ट्रसंघीय मिसन आइओएम उठेर हिँडेपछि समस्यामा परेको थियो । दुई सय जनाभन्दा बढी युवाको पैसा उठाएर फन्दामा परेका हाल बेलबारी–११ का वडाध्यक्ष विक्रम वान्तवाले पीडितहरूलाई कारोबार मिलाएर थुम्थुम्याएका छन् ।
झापास्थित शरणार्थी समन्वय इकाइका तत्कालीन संयोजक शाखा अधिकृत यज्ञ निरौला र राजमान गुरुङसहितको पहलमा ०७५ साउनमा यही समूहको सेटिङमा १२ शरणार्थीको प्रमाणीकरण भई त्यो निर्णय शंकाको घेरामा परेपछि तेस्रो देश पुनर्वासका नाउँमा अमेरिका पठाउने योजना खल्बलिएको थियो । तस्करको योजनाको चुरो कुरो सरकारी स्तरमै पुगेपछि गृह मन्त्रालयमार्फत केही वर्ष दुईवटा समिति बनाएर अनुसन्धान नै गरिसकिएको थियो तर सो मामिला केही वर्ष त्यत्तिकै गुपचुपमा रह्यो ।
पूर्वमा करिब ७० करोड असुन्ने इरादा भए पनि करिब १५/२० करोड उठाएको अनुमान गरिएको छ। सो रकम क–कसले कति कति भ्याए भन्ने यकिन नभए पनि उठाइएको सबै पैसाको मुख्य हिस्सा सुजातानिकट केशव दुलाल र पूर्व गृहमन्त्री बादल र टोपबहादुर नजिकको मान्छे भनेर चिनाउने साने भण्डारीले लगेको खुलेको छ । कमिसनको लोभमा फसेका थुप्रै युवा अहिले इन्तु न चिन्तु भएका छन् ।
टिप्पणीहरू