जनताको बचत जोखिममा,नक्कली धितोमा कामनाद्वारा ७० लाख

जनताको बचत जोखिममा,नक्कली धितोमा कामनाद्वारा ७० लाख

तौलिहवास्थित कामना सेवा बैंकका कर्मचारीहरुले नक्कली धितो खडा गरी ७० लाख ऋण दिएको खुलासा भएको छ ।

२०७६ साल पुस २९ गते लिएको ऋण ऋणीले साँवा व्याज नतिरेपछि धितोमा राखेको जग्गा लिलाम प्रकृया शुरु गर्दा धितो नक्कली भएको खुलासा भएको हो । तत्कालिन बैंक प्रमुख अखिलेश अग्रहरी र कर्जा शाखा प्रमुख अविनाश शुक्लाको मिलेमतोमा तौलिहवास्थित सुनिल ग्यास सप्लायर्सका सन्चालक सुनिल अग्रहरीलाई नक्कली धितो रोक्का कागज बनाई ३७ लाख ऋण प्रवाह गरेका थिए ।

आफ्नी आमा विमला बनिनको नाममा रहेको घर जग्गा राखेर यसअघि पनि २७ लाख ऋण लिएका सुनिल अग्रहरीले थप ऋणका लागि बैंक म्यानेजर र कर्जा शाखा प्रमुखसहित बैंक प्रतिनिधि सरिता कंडेलसंग मिलेर किर्ते रोक्का कागज बनाई बैंकबाट ३७ लाख ऋण लिएका थिए । अग्रहरीले कपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित कित्ता नम्बर १५५२ को ५ कठ्ठा ६ धुर ( साबिक बगरदवा गाबिस ८ क ) को जग्गा धितो राखेको रोक्का कागज बनाएका थिए । बैंकमा १ बर्षअघि धितो राखिएको भनिएको उक्त जग्गा अग्रहरीले २०७७ साल फागुन २६ गते तौलिहवाकै व्यापारी सन्तोष गुप्तालाई बेचेको तौलिहवा मालपोत कार्यालय प्रमुख ऋषिराम पौडेलले बताए । “जग्गा रोक्का नै थिएन, नियमानुसार खरिद बिक्री भयो । अहिले भने उक्त जग्गा सिटिजन्स बैंकको नाममा रोक्का छ” प्रमुख पौडेलले भने । 

किर्ते कागजात बनाएर ऋण दिने तत्कालिन बैंक म्यानेजर अखिलेश अग्रहरी हाल परासीस्थित कामना सेवा बैंक शाखा प्रमुख छन् भने तत्कालिन कर्जा शाखा प्रमुख अविनाश शुक्ला तौलिहवास्थित साइन रेसुंगा बैंक शाखा प्रमुख छन् । नक्कली धितो राखेका सुनिल अग्रहरी बैंकको सम्पर्कमा छैनन् । उनले २ बर्षदेखि साँवा र ब्याज तिरेका छैनन् । बैंकमा आएका नयाँ म्यानेजर रामप्रित पालले खराब ऋणी भन्दै जग्गा लिलामी प्रकृया अघि बढाउँदा धितो जग्गा कागज नक्कली रहेको र रोक्का भनिएको जग्गा अर्कैले किनेको थाहा पाएपछि तत्कालिन बैंक कर्मचारीलाई जानकारी गराएका थिए । आफू फस्ने डरले तत्कालिन बैंक प्रमुख अग्रहरी र कर्जा प्रमुख शुक्लाले मिलेर अग्रहरीको ऋणको ५० हजार व्याज तिरेका थिए । घटनालाई लुकाउन बैंकले ऋणी बिमला बनिनको १० लाख मूल्य पर्ने घर रोक्का गरे पनि २५ लाख बराबरको ऋण असुल हुने कुनै आधार देखिएको छैन । उक्त घटनापछि अरु ऋण प्रवाह गरेका कागजात समेत छानबिन गरिरहेको बैंकले जनाएको छ । 

नक्कली धितोमा लाखौं  ऋण दिइरहेको भन्ने घटनापछि कामना सेवा बैंकमा बचत गरिरहेका निक्षेपकर्ताहरुको बचत जोखिममा छ । केहीले बचत निकाल्न थालिसकेका समेत छन् । घटनाबारे कामना सेवा विकास बैंकका लुम्बिनी प्रमुख मोहनदत्त खनालले कहिलेकाहीं  यस्ता समस्या आउने गरेको भन्दै यसलाई सामान्य रूपमा लिन आग्रह गरे । कर्मचारीकै मिलेमतोमा किर्ते काम गरी ७० लाख ऋण दिँदासमेत कामना सेवा बैंकले कारवाही गर्नुको साटो अर्कै बैंकको प्रमुख जस्तो जिम्मा दिइनु बचतकर्ताको निक्षेपमाथि खेलवाड गरेको बुझिन्छ ।


 

टिप्पणीहरू