प्रधानमन्त्रीको भारत भ्रमणबारे सिंहदरबारमा यस्तो भयो सल्लाह

प्रधानमन्त्रीको भारत भ्रमणबारे सिंहदरबारमा यस्तो भयो सल्लाह

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न भारत भ्रमणमा उठाउनुपर्ने एजेण्डाबारे पूर्वप्रधानमन्त्रीसहित प्रमुख पार्टीका नेताहरुसँग सामूहिक परामर्श गर्नुभएको छ । 

पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई, विभिन्न पार्टीका नेता र कुटनीतिज्ञसँग आज सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले भरत भ्रमणमा उठाउनुपर्ने विषयका सम्बन्धमा सुझाव माग्नुभएको हो । 

त्यसक्रममा नेताहरुले नेपालको हितलाई केन्द्रमा राखेर सीमा विवाद, ईपीजीको प्रतिवेदनसहित दुई देशबीच देखिएका अन्य विवाद समाधानमा भ्रमणलाई केन्द्रित गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएको बताइएको छ । त्यस्तै, नेपाल-भारत व्यापारसम्बन्धी वाणिज्य सन्धी पुनरावलोकनको विषय पनि उठाउन नेताहरुले प्रधानमन्त्रीलाई सल्लाह दिएका छन्  ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, भूमि व्यवस्था मन्त्रीसमेत रहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ, उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्का, लोसपा अध्यक्ष महन्थ ठाकुर, पूर्व परराष्ट्र मन्त्रीहरु प्रदिप ज्ञवाली, बिमला राई पौडेल, प्रकाशचन्द्र लोहनी,  रघुवीर महासेठ,  पूर्वराजदूत भेष बहादुर थापा, आम जनता पार्टीका अध्यक्ष  प्रभु शाह , मुख्यसचिव शंकरदास बैरागी लगायत पनि सहभागी थिए । 

प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते चार दिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।
 

टिप्पणीहरू