रोकियो पत्रकारको भवन शिलान्यास
हिमाली जिल्ला म्याग्दीको बेनी बजारस्थित नगरपालिकाले नेपाल पत्रकार महासंघलाई भाडामा दिएको जग्गामा भवन निर्माणका लागि शिलान्यास गर्ने तयारी अन्तिम चरणमा रोकिएको छ ।
पत्रकार महासंघका तत्कालीन अध्यक्ष तारानाथ शर्मा र बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माबीच वि.सं. २०७६ पुस ३ गते दश वर्षका लागि जग्गा भाडामा उपलब्ध गराउने सम्झौता भएको थियो । वडा नम्बर ७ मा रहेको कित्ता नं. १४१९ को ४ आना जग्गा भाडामा उपलब्ध गराउनका लागि २०७६ मंसिर १७ गते बसेको नगर कार्यपालिकाको पूर्ण बैठकको निर्णयअनुसार सम्झौता भए पनि नयाँ भवन निर्माण र त्यहाँको पुरानो भवन प्रयोगमा अवरोध हुँदा अन्योल भएको सचिव सन्तोष गौतमले बताए ।
शाखा अध्यक्ष प्रकाश पौडेलले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अवरोधका कारण कार्यक्रम स्थगित गरिएको जानकारी दिए । ‘हामीले वार्षिक १० हजारका दरले भाडा तिर्दै आएका छौँ तर उक्त संरचनामा विप्लव नेतृत्वको समूह बस्दै आएको छ । उनीहरू बसेको भवन नभएर त्यहाँ रहेको खाली जग्गामा भवन बनाउन खोज्दासमेत अवरोध भयो,’ पौडेलको भनाइ छ ।
भवन बनाउन गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा दश लाख रूपैयाँ बिनियोजन गरेको भए पनि अहिलेसम्म कामले गति लिन नसक्दा त्यो रकम के हुने अन्योल छ । गत वर्ष पनि १० लाख रुपैयाँ फ्रिज भएको थियो ।
प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा नेकपाका प्रतिनिधिहरू सहमत नभएपछि कुनै निर्णय हुन नसकेको बुझिएको छ । बैठकमा नगरप्रमुख सुरत केसीले एक महिनाभित्र जग्गा खाली गर्ने मौखिक प्रतिबद्धता जनाएको भए पनि कुनै ठोस लिखित निर्णय हुन नसकेको पत्रकार महासंघले जनाएको छ ।
बैठकमा नेकपाका प्रतिनिधि लालु किसान र उषा घर्तीले खाद्य संस्थानबाट सो जग्गा खरिद गरेका व्यक्तिले आफूहरूलाई जग्गा दिने लिखित सहमति गरेको र सो सहमति कार्यान्वयन नगरेसम्म प्रयोग गर्न सहमति नजनाउने अडान राखेको नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जनाएको छ । वि.सं. २०६४ मा खाद्य संस्थानबाट हेटौडाका नरोत्तम दाहालले खरिद गरेको उक्त जग्गा दाहालबाट बेनी नगरपालिका २ का प्रदीप सापकोटाले किनेका थिए ।
खाद्य संस्थानले बिक्री गरिसकेको उक्त जग्गा जिल्लास्थित राजनीतिक दलहरूले सार्वजनिक हुनुपर्ने माग गर्दै आन्दोलन गरेका भए पनि व्यक्तिको मूल्य तिरेर किनेको हुँदा अन्यौल पनि यथावत नै थियो । आन्दोलनपछि सापकोटाले आफ्नो जग्गामध्येबाट तत्कालीन अर्थुङ्गे गाविसलाई चार आना दिएकोमा उक्त जग्गा अहिले बेनी नगरपालिकाको नाममा कायम छ । जिल्ला प्रशासन, सेनाको सानो टुकडी, राष्ट्रिय अनुसन्धान एवम् जिल्ला प्रहरी कार्यालयको एक सय मीटर पेरिफेरिमा पर्ने व्यक्ति तथा नगरपालिकाको जग्गामा विप्लव नेतृत्वले लामो समयदेखि कब्जा जमाएर बसेको छ ।
– अमृतप्रसाद पौडेल
टिप्पणीहरू