पोखराका सडकमा धमाधम ट्राफिक लाइट जडान गरिँदै

पोखराका सडकमा धमाधम ट्राफिक लाइट जडान गरिँदै

पोखराका मुख्यचोकहरुमा ट्राफिक लाइट जडान गर्न थालिएको छ । पृथ्वीचोक, सभागृहचोक, श्रृजनाचोक, जिरो किलोमिटरचोक र विरौटाचोकमा ट्राफिक संकेत बत्ती जडानको काम अघि बढाइएको हो ।

पोखरा महानगरपालिकासँगको समन्वयमा सडक विभागले ट्राफिक लाइट जडान शुरु गरेको हो । एक करोड ७० लाख रुपैयाँ लागतमा जिरो किलोमिटरका पाँच वटा सेक्सन, श्रृजनाचोकका चार वटा सेक्सन, सभागृहचोकका तीन वटा सेक्सन, पृथ्वीचोकका चार वटा सेक्सन र बिरौटाचोकका पाँच वटा सेक्सनमा ट्राफिक लाइट जडान गर्न लागेको नगरप्रमुख धनराज आचार्यले बताए । 

त्यस्तै, महानगरपालिका थप पाँच वटा चोकमा ट्राफिक संकेत लाइट जडानका लागि टेण्डर आह्वानको प्रक्रियामा रहेको उनले जानकारी दिए । चिप्लेढुंगा, हल्लनचोक, राष्ट्र बैंकचोक, रत्नचोक र हेमजाको मिलनचोकमा पनि ट्राफिक लाइट जडान गर्ने महानगरपालिकाको योजना छ । 

यता, महेन्द्रपुलमा लाइट जडान भइसकेको जनाइएको छ । शहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्न कठिनाइ भएपछि महानगरपालिकाले लाइट जडान प्रक्रिया अघि बढाएको हो । पोखराका मुख्यचोकहरुमा हाइमास्ट लाइट जडान भइसकेका छन् भने एक हजार ८०० बढी सडक बत्ती बल्ने क्रममा रहेको छ ।
 

टिप्पणीहरू